Erani Mahal
बुटवलमा भव्य प्रदर्शनी केन्द्र बन्ने
20190526145300152_40062

बुटवल - बुटवल क्षेत्रका उद्योगी व्यवसायीका संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएकाे छ । रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा शहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने भएको हो । एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत प्रदर्शनी केन्द्र निर्माणको काम हुने छ । प्रदर्शनी केन्द्र निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आहृवान भई क्यापासिट इन्फ्रा प्रोजेक्ट्स-गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिनुभयाे ।

२७ महिनाभित्र निर्माण सम्पन्न हुने प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरु रहनेछन् । हरेक स्टल एकसय ४४ फुटको हुनेछन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग-अलग गर्न मिल्ने गरी बनाइने छ । एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाइनेछन् ।

प्रदर्शनी केन्द्रको भुइँमा इन्टरलक सिमेन्ट टायल  बिछ्याइने हुँदा अब अवलोकनकर्ताले विगतमा जस्तो धुलोको समस्या झेल्नुपर्ने छैन । यस्तै ३६ हजार वर्गफिट क्षेत्रफललाई खुल्ला प्रदर्शनी स्थल बनाइने छ । जसमा सवारी साधन र हेभी इक्युपमेन्ट लगायत  प्रदर्शन गर्न सकिने बताइएकाे छ ।

यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्गफिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने आयोजना प्रमुख लामाले बताए ।प्रदर्शनी केन्द्रमा चार सय ५० जना क्षमता र तीन सय जना क्षमताका दुईवटा सेमिनार हल, दुई हजार जना क्षमताको फुड कोर्ट (चमेनागृह/भोजनालय) र एउटा प्रशासनिक भवन बन्ने छन् ।

प्रदर्शनी केन्द्रमै मेशिनरी उपकरण भण्डारण, मर्मतका लागि तीन वटा वायर हाउससमेत बन्नेछन् ।

प्रदर्शनी केन्द्र परिसरमै गणतन्त्र स्मारक पनि बनाइनेछ । ‘डिजाइन, क्षेत्रफल र हरियालीसहित बन्ने यो प्रदर्शनी केन्द्र देशकै नमूना र काठमाडौं बाहिरको पहिलो हुन्छ,’ लामाले भन्नुभयाे । टवल मण्डपको साढे १६ बिगाहा जग्गामध्ये साढे १० बिगाहामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने छ ।

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने हुन्छ । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमतिसमेत बिहीबार प्राप्त भएकाले अब काम द्रुत गतिमा अघि बढ्नेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update