Erani Mahal
कृषि अनुदानले आर्यआर्जनमा बृद्धि गर्नुपर्छ : नगरप्रमुख थापा
IMG20190528142151

पाल्पा - रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बर्षैपिच्छे आउने कृषिका अनुदान मात्र अनुदानका लागि नलिई आर्यआर्जनका लागि हुनुपर्ने बताउनुभएको छ ।

रामपुर नगरपालिका कृषि शाखाले जनप्रतिनिधि, कृषक र कृषि समुहबीच गरेको अन्तरक्रियामा बोल्दै नगर प्रमुख थापाले अन्तरक्रियाबाट किसानको समस्या, आवश्यकता प्राविधिकलाई पहिचानमा थप सहयोग पुगेको बताउदै अनुदानका लागि भन्दा पनि जागर र उत्साहले कृषिमा लाग्न किसानलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले कृषि र पर्यटनबाट नगरको विकासमा लागेको छ,थापाले भन्नुभयो–बर्षैपिच्छे एउटै किसान अनुदानको लागि धाउछ, अब अरुले भन्दा धेरै र फरक उत्पादनबाट आम्दानी गर्छु भनेर पहिचानका लागि एक किसान एक खेतीमा लाग्नुस् । नगरपालिकाले प्रदेश सरकारको समन्वयमा ३ सय मेट्रिकटन क्षमताको शितभण्डार निर्माण शुरु गर्न लागेको बताउदै अब कृषिका लागि पर्यटन तान्न र आर्थिक सवलका लागि आयआर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रामपुर नगरपालिका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपानेले परम्परित कृषि गरेर अब केही नहुने बताउनुभयो । एउटा किसानले २० किलो करेला फलाएर बजार पाएनौं भन्छौ कम्तिमा एक ट्रक उत्पादन गरौं पोखराको व्यापारीले तरकारी खरिद गर्छ–न्यौपानेले भन्नुभयो–किसान भनेर काम त गर्छाै तर मनदेखि लागेर सामुहिक काममा खटिन गाह्राे मान्छौ ।

यसले उत्पादन पनि त्यस्तै हुन्छ । उहाँले नगरले नगरका वडाहरुलाई कागती, आलु, बेसार लगायत पकेट वडाको रुपमा विकास गर्न लागेको बताउदै पकेट क्षेत्रबाटै अन्य वडामा उत्पादन खपत गर्ने गरि वडाबासी किसान लाग्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दिनेश कुमार खनालले स्थानीय, प्रदेश र केन्द्र सरकारले कृषिमा अनुदान दिन्छ राम्रो काम गरेर विश्वास किसानले दिलाउनुपर्ने बताउनुभयो । नगरपालिकाका आर्थिक विकास समिति सदस्य कमलराज भट्टराईले प्राविधिक सल्लाहबाट खेती अभैm नगरेको बताउनुभयो । उन्नत बिउबिजन र प्राविधिकको सल्लाह अनुसार गर्न उहाँले अनुरोध गर्नुभयो ।

अन्तरक्रियामा किसानहरुले मकैमा गवारो लागेको, नियमित तालिम अबलोकन भ्रमण नभएको, उन्नत बिउ, बजारको समस्या, बजारमा बिक्री गर्न ल्याए पनि सस्तोमा छोड्नुपर्ने बाध्यता, विमा कार्यक्रम, नियमित पानीको समस्या, बाली क्षतिका बारेमा जिज्ञासा राखेका थिए ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रियामा रामपुर नगरपालिकाका सबै जनप्रतिनिधि, नगरका अगुवा किसान तथा कृषि समुहको सहभागिता रहेको थियो । अन्तरक्रियाको सञ्चालन कृषि शाखाका प्राविधिक शुशिल अधिकारीले गर्नुभएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update