Erani Mahal
रिडी क्षेत्रमा शव जलाउँदा वडाद्वारा अबैध शुल्क अशुली
61114094_186957682220872_1031204510850088960_n

पाल्पा - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र तानसेन नगरपालिकाको आर्थिक ऐन विपरित तानसेन नगरपालिका वडा नम्बर १४ ले रिडी रुरुक्षेत्रमा घाटको ठेक्का लगाएको छ । तानसेन नगरपालिकालाई नै जानकारी नदिई वडा कार्यालयले यस्तो ठेक्का लगाएको हो ।

मुलुकमा लागू भएको संघीय व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनपछि वडालाई यसरी घाटको ठेक्का लगाउने अधिकार छैन । तानसेन नगरपालिकाको आर्थिक ऐनले पनि यसरी ठेक्का लगाउन स्वीकृत गरेको देखिएको छैन । यसको ठाडै विपरित गएर तानसेन नगरपालिका वडा नं. १४ को वडा कार्यालयले घाट शुल्क र कवाडी सामानको ठेक्का दिएको हो ।

फाइल तस्विर : इरानीमहल डटकम ।

नगरपालिकालाई यस विषयमा कुनै जानकारी नै दिएको छैन । तानसेन नगरपालिकाका लेखाअधिकृत दिवाकर अर्यालले आफूले यस विषयमा कुनै जानकारी नपाएको बताउनुभयाे । उहाँले १४ नंम्बर वडा अर्गलीले यस्तो कार्य गर्दै आएको बल्ला जानकारी पाएको बताउनुभयाे । वडाअध्यक्ष कमल रानाले विगतदेखि नै लगाउँदै आएकाले आफूले पनि सोही अनुसार नै लगाएको बताउनुभयाे ।

‘पहिला देखि नै यसरी सम्झौता गरेर ठेक्का दिने गरेको रहेछ,’ उहाँले भन्नुभयाे, ‘त्यसैगरी अहिले पनि ठेक्कामा लगाएको हो ।’ वडा कार्यालयले रिडीका स्थानीय व्यवसायी खिमप्रसाद गौतमलाई २ लाख ५ हजार ५ सय ५५ रुपैयँ“मा रिडी घाटको ठेक्का दिएको हो । सोही व्यवसायीलाई कवाडी सामान सम्बन्धी कामका लागि ४१ हजार रुपैयाँमा वडा कार्यालयले ठेक्का दिएको भेटिएको छ ।


आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकालाई पत्तो नदिई वडा तहवाटै घाट कर असुली गरेकाले यो गैरकानुनी हुने लेखाअधिकृत अर्यालले बताउनुभयाे । धार्मिक स्थल रुरु क्षेत्र अन्तर्गत पाल्पा क्षेत्रको गाण्डकी तटमा शव जलाउँदा हुने फोहोर व्यवस्थापनका लागि ठेक्का लगाएको हो ।

साविक अर्गली नमुना गाउँ विकास समितिले असुल्दै आएको शुल्क अहिले वडा कार्यालयले संकलन गरेको छ । यहाँ शव जलाउदा एक शव जलाएवापत तीन सय रुपैया लिने गरिन्छ । यस आर्थिक वर्षका लागि गएको २०७५ असार ३१ गते स्थानीय खीमप्रसाद गौतमसंग सम्झौता गरी रकम असुली गरेको भेटिएको छ ।

संघीय व्यवस्था अनुसार स्थानीय तहका वडा कार्यालयमा कुनै पनि आर्थिक कारोवारको अधिकार छैन । कुन स्थानवाट राजश्व संकलन गर्ने वा नगर्ने विषयमा कार्यपालिकाको निर्णय र आर्थिक ऐनको मातहतमा रहेर राजश्व शाखाकोे समन्वयमा संकलन गरी नगरपालिकाको खातामा जम्मा गर्नुपर्ने आर्थिक ऐनको नियम छ ।

घाट सरसफाईको २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र कवाडी सामान सम्वन्धी ठेक्काको ४१ हजार रुपैयाँ वडा कार्यालयले असुल गर्दै आएको हो । ठेक्का लगाएका व्यक्तिले नगरपालिकाको रसिद नभईकन साविकको गाविसको लेटर हेड रहेको विलमा तानसेन नगरपालिका १४ नम्बर वडाको छाप प्रयोग गरेर रकम उठाउँदै आएको छ ।

तासनेन नगरपालिकाका राजश्व अधिकृत मधुसुधन घर्तीले तानसेन १४ रिडी घाट सरसफाईको ठेक्का र राजश्व असुलीका विषयमा आफूलाई जानकारी नभएको बताउनुभयाे । उहाँले राजश्व र ठेक्काका विषयमा आफुलाई जानकारी हुने भएपनि वडाले आफुखसी उठाएका कारण कुनै जानकारी नगराएको बताउनुभयाे ।


यसरी नगरपालिकको आर्थिक ऐन र नियम विपरित राजश्व उठाएकोबारे छानविन हुने लेखा अधिकृत अर्यालले बताउनुभयाे । उहाँका अनुसार घाट व्यवस्थापन र कवाडी ठेक्कानगरपालिकाले लगाएको छैन । सो वापत कुनैपनि रकम राजश्व खातामा जम्मा नभएको उहाँले बताउनुभयाे । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले वडाले गरेको अवैध राजश्व असुलीका विषयमा वडाध्यक्षसंग छलफल गर्ने बताउनुभयाे । उहाँले नगरपालिकालाई जानकारी नगराई असुली गरिएको राजश्व आर्थिक नीति विपरित भएकोले कानून अनुसार कारवाही अगाडी बढाउने समेत बताउनुभयाे ।

तानसेन १४ का वडा अध्यक्ष रानाले तत्कालीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलसंँगको सहमतिमा वडाले ठेक्का जिम्मा दिएको बताउनुभयाे । उहाँले सूचना जारी नगरिकन विगतका वर्षमा जस्तै स्थानीय वासिन्दालाई सहमतिका आधारमा जिम्मा लगाइएको बताउनुभयाे ।

साविकको गाविस हुँदा संकलन गरी घाट व्यवस्थापनमा खर्च हुने गरेकोले अहिले पनि संकलन भएको रकम वडाको खातामा जम्मा गरी घाट सरसफाई र मेलापर्वमा खर्च गरिने गरेको अध्यक्ष रानाले जानकारी दिनुभयाे । स्थानीय सरकार सञ्चालन ऐनको दफा १२ को वडा समितिको काम, कर्तव्य र अधिकारमा पनि कुनै पनि प्रकारको राजश्व असुल्ने, ठेक्का लगाउने, आर्थिक कारोबार गर्ने उल्लेख छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update