Erani Mahal
रामपुरमा एउटै कोठाबाट सभा हलसहित चार शाखाको काम !
60747618_598475123995883_5271979322553401344_n

पाल्पा - रामपुर नगरपालिकाको एउटै कोठाबाट ४ शाखाको काम हुँदै आएको छ भने त्यही कोठालाई कार्यक्रम गर्ने हल पनि बनाइएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शाखा, शिक्षा शाखा, सुचना तथा प्रविधि र जिन्सी शाखा गरी नगरपालिकाका ४ शाखा एउटै कोठामा हुँदा काम गर्न गाह्रो भएको कर्मचारीले बताएका छन् ।

तत्कालिन समयमा गाविस भएको एकतले भवनलाई २०७१ को नगरपालिका घोषणा पछि २ तले बनाइएको थियो भने स्थानीय निकायको निर्वाचनसँगै तेस्रो तला हल बनाइएको थियो । अहिले त्यही हलमा ४ शाखा सहित कार्यक्रम हुने सभाहल छ ।

दैनिक जसो नगरपालिकाको कार्यक्रम त्यही हलमा हुन्छ भने बैठक छलफल पनि त्यहा हुदै आएको छ । त्यसले गर्दा दैनिक शाखाको काम गर्नमा असजिलो महशुस कर्मचारीले गरेका छन् । माथिल्लो तलामा हल सहित नगरपालिकाको १० कोठामात्र रहेको भवनमा नगरपालिका कार्यालय सञ्चालन हुदै आएको छ ।

गत भदौदेखि सोधपुछ कक्ष तथा दर्ता चलानी भने बाहिर टिनको ट्यांकी राखेर सेवा दिइरहेको छ । रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडमा रहेको नगरपालिका कार्यालय साघुँरो हुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीको भिड लाग्ने गरेको छ । कार्यालयको एउटै कोठालाई आल्मुनियमको प्रयोगमा चारवटा क्याविनमा विभाजन गरि शाखा विस्तार गर्नुपरेको छ । एकै कोठामा रहेर काम गर्नुपर्दा एउटा शाखाको हल्ला अर्काे शाखामा सुनिदा अबरोध हुने गरेको स्वास्थ्य शाखा संयोजक तिर्थ प्रसाद ढुङ्गानाले बताउनुभयो ।

संयोजक र सहसंयोजक गरी २ जना कर्मचारी रहेको स्वास्थ्य शाखामा कुर्ची, टेवल र दराजले क्याविन भरिने अबस्था छ । सामान्य कागजपत्र बाहेक स्वास्थ्य शाखालाई आबश्यक पर्ने सामान गोदाममा राखिएको छ ।

स्वास्थ्य शाखाको गोदाम ५ सय मिटर पर भाडामा छ । केही सामान चाहिएको खण्डमा शाखाको सामान छोडेर अर्काे घरमा जानुपर्ने बाध्यता स्वास्थ्य शाखाको छ । शिक्षा शाखा पनि उत्तिकै साघुँरो छ । शिक्षा शाखामा हाल शाखा प्रमुख मात्र हुनुहुन्छ ।

कर्मचारी धेरै नभएको र नजिकैको रामतुल्सी माविमा स्रोतकेन्द्रको एउटा कोठा भएकाले त्यहाँबाट आबश्यक काम हुदै आएको शिक्षा शाखा प्रमुख रमाकान्त अर्यालले बताउनुभयो । तर विद्यालयको कामले शाखामा आउने प्रध्यानाध्यापक शिक्षकहरु एकैपटक आएमा ३ जनाभन्दा बढी बस्ने ठाउँ शाखामा छैन ।

हल प्रयोग नभएको खण्डमा हलमा बस्ने गर्नुहुन्छ । सुचना सञ्चार शाखामा कर्मचारी नै काम विशेषले जाने आउने गर्छन् भने जिन्सी शाखा प्रायः बन्द नै हुन्छ तर एउटै कोठामा धेरै शाखा राख्दा दैनिक कामकाजमा समस्या आएको छ । भने सोही शाखा रहेको कोठा नै हलको रुपमा प्रयोग भैरहदा धेरै पटक हलमा हुने कार्यक्रमले शाखाको कामकाजमा असजिलो हुन्छ ।

हलमा जुनसुकै शाखा वा नगरपालिकाको समन्वयमा अन्य संघसंस्थाको आयोजनामा कार्यक्रम भएपनि नजिकका शाखाका कर्मचारी त्यही भुल्नुपर्ने अबस्था रहेको नगरपालिकाका एक कर्मचारीले बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई पनि कोठाको अभाव भने नखट्किएको होइन । केही हदसम्म सेवालाई सहज बनाउन अबको केही दिनमा मालपोत कार्यालयको दोस्रो तलामा केही शाखा सार्ने योजना रहेको उहाँले बताउनुभयो । यसको लागि मन्त्रालयसँग केही समय अघि सम्झौता भइसकेको छ ।

नगरपालिकाको आफ्नै भवन पनि निर्माणाधिन भएकाले अबको ४/५ महिनामा तल्लो तला सकेर त्यहाँबाट पनि सेवा दिन थालेपछि सेवा प्रवाह सहज हुने थापाको भनाई छ । यसअघि नगरपालिकाको भवन निर्माणका लागि बजेट नआएको होइन तर आएको रकम कुनै काम नगरि फ्रिज गएको थियो । यसले गर्दा पनि अहिले नगरपालिकाको साघुँरो भवनबाटै सेवा दिनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update