Erani Mahal
खुर्सानी र टमाटर खेतीबाट लाखाैं आम्दानी
IMG_9617

पाल्पा - जिल्लाकाे बगनासकाली–१, घारेबण्दाकी गिनीसरा गाहाले खुर्सानी र टमाटर खेतीबाट वार्षिक सात लाख आम्दानी गर्न सफल हुनुभएको छ । पहिले मकै खेती गर्ने बारीमा खुर्सानी र टमाटर खेतीबाट उहाँले वार्षिक पाँच लाख देखि सात लाखसम्म आम्दानी गर्नुभएको हो ।


घर नजिकै रहेको पाँच रोपनी बारीमा टमाटर र खुर्सानी यतिबेला लटरम्म फलेका छन् । पहिले मकै खेती गर्दा परिवारले वर्षभरि खान नपुग्ने अवस्था थियो तर खुर्सानी र टमाटर खेतीले आफ्नो जीवन नै परिवर्तन भएको गिनीसराको भनाई छ । गत वर्ष पाँच लाखको खुर्सानी र दुई लाख ५० हजार रुपियाँको टमाटर बिक्री भयो उहाँले भन्नुभयो यो वर्ष पनि दुई÷दुई हजार खुर्सानी र टमाटरका बिरुवामा दाना लागेका छन् ।


पहिले घरमै प्रयोग गर्नका लागि मात्र खुर्सानी खेती गर्नुभएका गिनीसराले पछिल्लो तीन वर्षयता व्यावसायिक रुपमा खेती गर्नुभएको हो । १२ वर्ष अघिदेखि दुई/तीन सय खुर्सानीका बिरुवा लगाएर घरमै प्रयोग गरिन्थ्यो बढी भएको बिक्री पनि गर्थे उहाँले भन्नुभयो तीन वर्ष भयो दुई हजार बिरुवा लगाएर व्यावसायिक रुपमा खेती थालेकी छु ।


गएको वर्ष दुई हजार क्वीण्टल खुर्सानी प्रतिकिलो ३० देखि ४५ रुपियाँमा बिक्री गरेको सुनाउँदै गिनीसराले एक हजार क्वीण्टल टमाटर ४० रुपियाँ प्रतिकिलो बिक्री गरेको बताउनुभयो । पाल्पामा खुर्सानी र टमाटरको बजार खासै नभएकाले आफूले बुटवल र गुल्मीमा बिक्री गरेर आम्दानी गरेको उहाँले बताउनुभयो ।


अघिल्लो वर्ष १७०१ जातको र यो वर्ष नेटाहर्ष जातको खुर्सानी खेती गरेको गिनीसराका श्रीमान् शेषबहादुरले बताउनुभयो । आफू काठमाडौँमा नोकरी गरेर बसेको भएपनि घरमै फर्किएर तरकारी खेतीमा श्रीमतीलाई सघाएको उहाँले बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिकाबाट खुर्सानी र टमाटरको बिउ, टनेका लागि प्लास्टिक र प्राविधिक सहयोग पाएको बताउनुभयो ।


गाउँपालिकाबाट सबै सहयोग पाएपनि आफूहरूले उत्पादन गरेको खुर्सानी र टमाटरको बजारमा बिक्री गर्न समस्या भएको यी दम्पत्तिको गुनासो छ । हामीले दुःख गरेर उत्पादन गर्ने तर बिक्री गर्ने बेलामा समस्या हुने रहेछ गिनीसराले भन्नुभयो गतवर्ष खुर्सानीले भाउ नपाउँदा सस्तोमा बिक्री गर्नुपरेको बाध्यता उहाँले सुनाउनुभयो ।


बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमूख सन्तोष जिसीले बगनासकाली गाउँपालिकाले यहाँका किसानलाई व्यावसायिक बनाउन, मल्चिङ् प्रविधिका लागि प्लास्टिक, माछाका लागि पोखरी बनाउन, तरकारी बालीमा रोगको आक्रमण रोक्न जाली नेट अनुदानमा प्रदान गरेको बताउनुभयो । पहिले घरमा प्रयोग गर्नका लागि मात्र तरकारी खेती गर्ने किसान पछिल्लो समय व्यावसायिक बन्दै गएको जिसीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update