Erani Mahal
रामपुर नगरपालिकाद्वारा हजार दिनका आमाहरुलाई अण्डा  वितरण
60536012_379773866215256_568511798630678528_n

सीता डोटेल पाल्पा रामपुर ५ जेठ । रामपुर नगरपालिकाको आर्थिक सहयोग, रामपुर ५ नम्बर वडा कार्यालयको समन्वयमा राधाकृष्ण आमा समुहले कार्यक्रमको आयोजना गरि वडामा रहेका हजार दिनका आमाहरुलाई अण्डा वितरण गरेको छ ।

हजार दिनका आमाहरुले पोषिलो खानेकुरा खाएमा आमा र बच्चा दुबै स्वस्थ हुन्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरपालिकाले अण्डा वितरण गरेको रामपुर नगरपालिकाकी उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।

नियमित पोषिलो खाना र स्वास्थ्य अबस्थालाई ख्याल गर्दै समृद्ध समाजको परिकल्पनामा लाग्न उहाँले सहभागीलाई आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले गर्भवती र सुत्केरी भइसकेका महिलाहरुलाई प्रयाप्त मात्रामा पोषण तत्व दिन र बच्चालाई कुपोषित हुनबाट जोगाउन अत्यावश्यक अण्डा वितरण गरि नियमित अण्डा खान र खुवाउनु पर्छ भन्ने सन्देश घरपरिवार र समाजमा जगाउन नगरपालिको पहलमा वडाले अण्डा वितरण गरेको बताउनुभयो । उहाँले साना बालबालिकाको स्वास्थ्यलाई हरेक आमाले नियमित खोपदेखि जाच र खानामा उत्तिकै ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले वडाका हरेक घर परिवारलाई एक हजार दिनका महिलाहरुलाई खानपान, स्याहारसुसार र स्वास्थ्यमा ख्याल दर्शाउन वडाका हजार दिनका सबै महिलाहरुलाई अण्डा वितरण गरिएको र पोषिलो खानामा नियमित अण्डा, सागसब्जी, गेडागुडी खानेहरुलाई मात्रा मिलाउन र नखाएकाहरुलाई खानपर्छ भन्ने ध्येयले कार्यक्रम गरिएको बताउनुभयो ।

सोही अबसरमा नगरपालिका कार्यपालिका सदस्य सावित्रा गैरे, वडा सदस्य बिष्णुप्रसाद बस्यालले हजार दिनका आमाहरुले अपनाउनुपर्ने स्वास्थ्य अबस्था, सरसफाईका बारेमा बोल्नुभएको थियो । महिला स्वास्थ्य तथा पौष्टिक आहार सम्बन्धी अन्तरक्रिया समेत भएको कार्यक्रममा रामपुर नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थ प्रसाद ढुंगाना, सहसंयोजक गिरिराज घिमिरे, रामपुर अस्पतालका नर्सिङ अधिकृत पुनम धिताल, बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर सञ्जु परियारले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का ४० जना गर्भवती महिलाहरु र ८५ जना बच्चाका आमाहरुलाई अण्डा वितरण गरिएको हो । अण्डा बुझ्दै हजार दिनका महिलाहरुले पछिल्लो समय विभिन्न सचेतनबाट नियमित खोप र खानपानमा ख्याल गर्दै आएको बताएका थिए ।

रामपुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जु परियार र तुलसी गौतमले गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update