Erani Mahal
पाल्पा बगनासकाली शैक्षिक तथा धार्मिक महाेत्सव सुरू
60455280_333061534068414_3127675870202822656_n

रानीमहल पाल्पा, ५ जेठ । जिल्लाको बगनासकाली–१, चिर्तुङ्धारा घोरबन्दास्थित श्री राम आधारभूत विद्यालयको सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आइतबारदेखि सुरु भएको छ । विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्न पाल्पा बगनासकाली शैक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको हो ।


महोत्सवको उद्घाटन गर्दै प्रमूख अतिथि पूर्वमन्त्री एवं संघीय सांसद सोमप्रसाद पाण्डेयले धार्मिक महोत्सवको माध्यम्बाट शैक्षिक संस्थाको विकास गर्न खोज्नु पवित्र कार्य भएको बताउनुभयो । उहाँले धर्म सुरु हुँदा मानव जीवन उत्कृष्ठ र सुन्दर बनाउने लक्ष्यका साथ भएको बताउँदै विद्यालयजस्तो पवित्र स्थलमा महायज्ञ हुनु प्रशंसनीय कार्य हो भन्नुभयो । उहाँले वर्तमान सरकारको लक्ष्य पनि समृद्धि हो भन्नुहुँदै शिक्षा क्षेत्रको विकास विना समृद्धि हासिल हुन नसक्ने उल्लेख गर्नुभयो ।


कार्यक्रममा बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी, वडा अध्यक्ष सोमबहादुर झेडी, नेकपाका जिल्ला सदस्य कमलप्रसाद पाण्डेय, नेपाली कांग्रेसकी प्रतिनिधि अम्विका पौड्याल, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष गोविन्दप्रसाद भट्टराई, ब्रम्हकुमारी इश्वरीय विद्यालयका भानुप्रकाश पौडेललगायतले महायज्ञ सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले शिक्षा क्षेत्रकाे विकास गर्न सबैले विद्यालयलाइ सहयाेग गर्न जरूरी रहेकाे बताउनुभयाे । २०१७ सालमा स्थापित यस विद्यालयले शैक्षिक क्षेत्रमा राम्राे विकास गर्न सक्ने सम्भावना भएपनि स्थानीय बासिन्दा र सरकारकाे वेवास्ताले विद्यालयकाे स्तरउन्नति हुन नसकेकाे हाे ।


आइतबारदेखि सुरु भएको विराट महायज्ञ जेठ १२ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद बस्यालले जानकारी दिनुभयो । कार्यक्रम संयोजक बस्यालको अध्यक्षता, पत्रकार यज्ञमूर्ति तिमिल्सिना र शिक्षक विष्णु ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।


महायज्ञमा एक हजार एक सय शान्ति कलश पुजन, धनधान्य दान, भजन कृतनलगायतका कार्यक्रम हुनेछन् । बिहान ७ बजेदेखि साँझ १० बजेसम्म विविध कार्यक्रम हुने आयोजकले जनाएको छ । विराट महायज्ञमा शैक्षिक अभियान्ता तथा पण्डित इश्वर शरण महाराज र नरेश भागवतोपासक सहितको टोलीले संगीतमय कथावाचन गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update