Erani Mahal
छायाँमा परेको श्रीराम आधारभूत विद्यालय घोरबन्दा र शैक्षिक तथा धार्मिक महोत्सव
image-1

गाेविन्द भट्टराइ पाल्पाको सदरमुकाम तानसेनबाट पैदल १ घण्टाको दुरीमा रहेको राम आधारभूत विद्यालय घोरबन्दा, पाल्पा बि.सं.२०१७ सालमा पञ्चायती कालरात्रीका बेला नागरिक पहलमा स्थापना भएपनि अझै माध्यमिक विद्यालय बन्न सकेको छैन । संस्थापक प्रधानाध्यापक चन्द्रबहादुर श्रेष्ठले त्यसबेला बुटवलबाट त्यस भेगमा बसाइ सरेर शैक्षिक विकासका लागि खटेको तथ्य अझैपनि कतिपय जेष्ठनागरिकले सम्झने गरेका छन् ।

चन्द्रबहादुर श्रेष्ठ, तुल्सीराम थापा, गोपाल थापा लगायतका त्यसबेलाका शिक्षकहरुको योगदानको कदर समाजले गर्न नसकेको हो कि झै लाग्दछ । हाल बगनासकाली गाउँपालिका, वडा नम्वर १, चिर्तुङधारा, घोरबन्दामा रहेको श्रीराम विद्यालय भन्दा धेरै पछि स्थापना भएका कतिपय विद्यालय माध्यमिक भैसक्दा समेत यो विद्यालय आधारभूत विद्यालय कै रुपमा रहनु दुःखलाग्ने कुरा हो ।

त्यस विद्यालयमा अक्षर चिनेका पूर्व विद्यार्थी देशका विभिन्न क्षेत्रमा रहेर समाजलाई अनेकन विधामा योगदान पु¥याएको पाइन्छ तर विद्यालयले भने माध्यमिक तहको अनुमति समेत प्राप्त गर्न सकेको छैन् । त्यसो त बगनासकाली वडा नं १ चिर्तुङधाराको गावटुङमा रहेको एक्लो माबि ग्राम्य माबिप्रति समेत सरकारी निकायको अपेक्षित सहयोग रहेको देखिन्न । नत स्थानीय अभिभावकहरुको चासो नै पर्याप्त देखिन्छ ।


पाल्पाको सदरमुकाम तानसेनसँग सीमाना जोडिएको बगनासकाली वडा नं १ चिर्तुङधारामा मगर तथा कुमाल जनजातिहरुको बाहुल्यता छ । मगर समुदायमा भारतीय तथा बेलायती सेनामा भर्ति हुनुलाई अझैपनि गौरवको रुपमा लिइन्छ । कुनैबेला चिर्तुङधारा चिलाङदी र गावटुङमा भारततीय र बेलायती पेन्सनक्याम्प रहेको थियो । प्रायः मगर समुदायका घरमा एक वा कतै बढी युवा सेनामा भर्ति भएको अवस्था थियो तर पछिल्लो समय सेना बाहेक अन्य क्षेत्रमा समेत मगर समुदायका युवाहरुको चासो बढ्दै गएको पाइन्छ ।

त्यसो त मगर समुदायकै कतिपय ब्यक्तिहरुले समुदायमा विकास निर्माण कार्यमा अगुवाइ समेत गरेका उदाहरण यहाँ गाउँगाउँमा भेटिन्छ । पछिल्ला दिनमा महिलाहरु समेत विकास निर्माण र आय आर्जनका गतिविधिमा सहभागी हुनेक्रम बढेका छ । कुमाल समुदायमा पछिल्लो समय प्लाष्टिकका भाँडा बजारमा आएपछि माटोको भाँडा बनाउने परम्परागत पेसा लोप हुँदै गएको अवस्था छ । मैले समग्र चिर्तुङधाराको भन्दा पनि यो लेखमा श्रीराम आधारभूत विद्यालय घोरबन्दासँग जोडेर केही कुरा उठान गर्न चाहन्छु ।
सुविधासम्पन्न स्मार्ट विद्यालय बनाउँन धार्मिक तथा शैक्षिक महोत्सव
२०७६ जेठ ५ देखि १२ गतेसम्म श्रीराम आधारभूत विद्यालय, घोरबन्दा, चिर्तुङधारामा धार्मिक तथा शैक्षिक महोत्सव चल्दैछ । प्रधानाध्यापक गुनबहादुर गाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद बस्याल, शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर बिसी, पुर्व शिक्षक गोपाल थापा, समाजसेवीहरु जितेन्द्र गाहा, धुब्र ढुंगाना, शिव ढुंगाना, जिराबहादुर कुमाल, शिव भट्टराई, शोभाखर बस्याल, लक्ष्मीप्रसाद न्यौपाने, हिरा थापा लगायत दर्जनौँ मनकारी सक्रिय व्यक्तित्वहरु रहेको त्यस भेगमा इतिहास बोकेको यस विद्यालयलाई माध्यमिक तहको अनुमति दिलाउन पहल गरिनु पर्दछ ।

स्थानीय मगर, कुमाल, ब्राम्हण तथा अन्य समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा गाउँकै श्रीराम विद्यालयबाट पाउन सकुन भनेर आफुहरु यतिबेला शैक्षिक तथा धार्मिक महोत्सव गर्न लागेको आयोजक समितिले जनाएको छ । त्यस भेगबाट बस चढेर आउने विद्यार्थीले सदरमुकाम तानसेनमा रहेका आधा दर्जन निजी विद्यालयलाई सघाएको अवस्था छ । माध्यमिक विद्यालय बनाएर शैक्षिक गुणस्तर अभिबृद्धि गरेर स्थानीय बालबालिकालाई त्यँही पढाउन सकिन्छ भन्ने उद्देश्य सरोकारवालाले लिन सक्नु पर्दछ भन्ने पंक्तिकारको आग्रह हो ।

काम विशेष भनु वा बाध्यताले तानसेन बस्नु परेपनि आफूले अक्षर चिनेको विद्यालयको शैक्षिक प्रगति होस् भनेर म र श्रीमती सीता गौतमले त्यस विद्यालयमा अक्षयकोष स्थापना गरेका छौँ । त्यसलाई ५० हजार राशि पु¥याउने हाम्रो सोच छ । हामी जस्तै विभिन्न कारणले बाहिर रहेका बाहेक त्यस सेरोफेरोमा बस्ने अभिभावकहरुसँग आग्रह छ –गाउँकै विद्यालयको गुणस्तर सुधारमा लाग्नुहोस अनि आफ्ना सन्तानलाई गाउँकै विद्यालयमा पढाउनुहोस् । अभिभावक, शिक्षकले ध्यान दिदा नै भुसलडाँडा माबि, देववाणी माबि जस्ता बन्द हुन लागेका विद्यालय समेत राम्रो बनेको उहाहरण हाम्रै छिमेकमा छ तसर्थ विद्यालय सुधारमा चासो देखाऔँ ।

अर्को कुरा यो विद्यालयलाई माबि बनाउन गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी, वडाअध्यक्ष सोमबहादुर झेंडी,प्रदेश सभासद डा पुरनमान बज्राचार्य र वीरबहादुर राना, संघीय साँसद सोमप्रसाद पाण्डेय लगायतका जनप्रतिनिधिले समेत सहयोग गर्नु पर्दछ । सामुदायिक शिक्षाको विकासविना ग्रामीण विकास कोरा कल्पना मात्र हो भन्ने कुरा हामीले २ दशकको निजी शिक्षाको प्रतिफल हेरेर पनि आँकलन गर्न सक्दछौँ ।

-लेखक गाउँले देउराली साप्ताहिकका पूर्व सम्पादक हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update