Erani Mahal
तानसेन भुसलडाँडामा सडक पक्की गर्ने कार्य सम्पन्न
image

रानीमहल पाल्पा, २ जेठ । तानसेन नगरपालिका वडा नं. १ स्थित तानसेन चर्चदेखि माईस्थान हुँदै मिसन जाने बाटो पिसिसी गर्ने कार्य सम्पन्न भएको छ । वडा नं. १ का वडा सदस्य नारायण न्यौपानेले मिसनदेखि तानसेन चर्च हुँदै तानसेन बजारसम्म पुग्न तथा कैलाशनगर सम्म पुग्न सहज हुने बताउनुभयो ।

उक्त बाटोको निर्माण गर्न १२ लाख खर्च भएकोमा नगरपालिकाबाट नाैँ लाख रूपियाँ अनुदान प्राप्त भएको बाँकी रकम उपभोक्ताबाट व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष शोरबहादुर खातीले बताउनुभयो ।

यसैबीच तानसेन नगरपालिका वडा नं. १ नारायणडाँडामा रहेको शिवालय नारायणडाँडा टोल विकास संस्थाको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा अध्यक्ष रामप्रसाद वस्यालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा टोल विकास संस्थाका ४२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिवालय नारायणडाँडा टोल विकास संस्था अन्तर्गत अर्गले आमाको घरदेखि नाङगेडाँडा सम्मको सडकको नाली सफा गर्नेबारे छलफलभयो । यही वैशाख २८ गतेका दिन सबै सदस्य उपस्थित भएर नाली सफा गर्ने र आउँदो दिनमा सफा स्वच्छ हराभरा नारायणडाँडा कायम गर्न यस्ता सरसफाईका कार्यक्रम नियमित रुपमा राख्ने निर्णय भएको टोल विकास संस्थाकी अध्यक्ष गीता बस्यालले बताउनुभयो ।

यस्तै तानसेन नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा वडा नं. १ टोल विकास संस्था समन्वय समितिको आयोजनामा वडाका कुल १ हजार ७ घरधुरी मध्ये कृषिमा आधारित ४ सय ८१ घरधुरीलाई तरकारीको बिउ विजन वितरण गरिएको छ ।

प्रत्येक घरधुरीलाई सिमी, बोडी, करेला, धनिया र भिण्डी गरी पाँच किसिमका तरकारीका बिउ खरिद गरी वितरण गरिएको टोल विकास संस्था समन्वय समितिका अध्यक्ष मित्रलाल नेपालीले बताउनुभयो । नगरपालिकाको ६५ हजार बजेटबाट सबै घरधुरीलाई बिउ विजन वितरण गर्न सकेकोमा नगर प्रमुख अशोक कुमार शाहीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता खाले कार्यक्रम गरी किसानलाई विस्तारै कृषिमा आत्मनिर्भर बनाईने र व्यावसायिकता तर्फ लाग्न प्रेरित गरिने बताउनुभयो । विउ विजन वितरण कार्यक्रममा, का.वा वडा अध्यक्ष दुर्गा नेपालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य शशि श्रेष्ठ, वडा सदस्य शिव थापा र नारायण न्यौपानेले समेत मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update