Erani Mahal
जनप्रतिनिधिकाे संरक्षणमा पाल्पाकाे बल्ढेङ्गढीमा काँचो साल काटियो
60363163_300793510812619_3206172513570652160_n

भुवन कार्की पाल्पा, २ जेठ । पाल्पाको रैनादेवीछहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ढाबमा दुई सय ७२ वटा काँचा सालका रुख काटिएका छन् । विद्युत विस्तारको नाममा साल काटिएका हुन् । तर विद्युत पोलको लाइनमा मात्र नभएर पाँच सय मिटर वरपरका रुख समेत काटिएका छन् ।

ढावका गाउँलेहरुले जोगदामारको स्थानीय जाबुने सामुदायिक वन र चन्द्रआकार समुदायिक वन क्षेत्र तथा आफना घर वरपरका समेत रुख काटेका हुन् । वन कार्यालयसंग कुनै समन्वय नगरी जथाभावि रुख काटेपछि जिल्ला वन कार्यालय पाल्पाले अनुगमन गरी कारवाही प्रक्रिया थालेको बताएको छ ।

जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले भन्नुभयो, ‘विद्युत विस्तारको वहानामा धेरै रुख काटिएका छन्, काट्नेलाई कानुन बमोजिम कारवाही हुन्छ ।’ अदालती प्रक्रिया पु¥याएर उनीहरुलाई पक्राउ गरिने पौडेलले बताउनुभयो ।

तर यसअघि वन कार्यालयले पक्राउ गरी ल्याएका केही ब्यक्तिलाई भने राजनीतिक दलका नेताले छुटाएको खुलेको छ । एक महिनाको अवधिमा यी रुख काटिएका हुन् । स्थानीय ३५ जनाले रुख काटेका थिए ।

गाउँपालिकाको वडा नं. ७ का वडा अध्यक्ष देवेन्द्र पुन र सामुदायिक वनमा काम गरिरहेका केही ठेकेदारहरुको उक्साहटमा गाउँलले यति धेरै काँचा साल काटेको हुनसक्ने बल्ढेङगढीका दलबहादुर खड्काले बताउनुभयो । वडा अध्यक्ष पुन भने सम्पर्कमा आउन चाहेनन् । पटक पटकको प्रयासमा पनि उनले फोन उठाएनन् । वडा अध्यक्ष पुन जनप्रतिनिधि नचुनिदै पनि काठ तस्करी विवादमा फस्दै आएका ब्यक्ति हुन् ।

‘विद्युत बिस्तारको क्रममा केही रुख काट्नै परे पनि ७५ प्रतिशत कम क्षतिमा काम गर्न सकिन्थ्यो तर कसको उक्साहटमा हो धेरै रुखहरु काटिएका छन्, छानबिन गरेर कारवाही हुन्छ ।’ वन अधिकृत पौडेलले भन्नुभयो । वन ऐन २०४९ अनुसार रुख काट्ने दोषीलाई बिगोको दोब्बर रकम जरिवाना तथा एक वर्ष जेल सजायको ब्यवस्था छ ।

तर राजनीतिक दवावका बावजुद वन कार्यालयले गर्ने कारवाही भने हेर्न बाँकी छ । काटिएका काँचा सालका रुखहरुको तस्करी शुरु भईसकेको पाईएको छ । केही रुखहरु गाउँलेहरुले टुक्रा पारिसेका छन् । दुई किलोमिटरको दुरीमै रुपन्देही पु¥याएर काठ बेच्न सकिने भएपछि यहाँ तस्करी मौलाएको हो ।

चुरे क्षेत्रमा पर्ने यहाँका जंगलमा पटक—पटक काँचा सालका रुख काट्ने र तस्करी गर्ने क्रम बढेको छ । यहाँका सामुदायिक वनमा टेण्डर हाल्ने गरेका ठेकेदारहरुले पनि यस्तै बहानामा रुख ढाल्न उक्साउने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update