Erani Mahal
रामपुरमा असारभित्र लालपुर्जा वितरण गर्न ध्यानाकर्षण
59946555_379084806032343_3749519613482762240_n

सीता डोटेल पाल्पा रामपुर २६ बैशाख । पटक–पटक लालपुर्जा वितरण गरिने भनेर पनि वितरण हुन नसकेको पाल्पाको रामपुर बजारमा आउदो असार मसान्त भित्रै लालपुर्जा वितरण गर्न निर्वाचित प्रतिनिधिले पाल्पाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण गराएका छन् ।

नेपाल सरकारले रामपुर जग्गा दर्ता समिति गठन आदेश जारी गरेको लामो समय भैसक्दा समेत जिल्लामा यसको प्रक्रिया अगाडी नबढेपछि प्रदेश सभा सदस्य युवराज खनालको नेतृत्वमा गएको ५ सदस्यीय टोलीले पाल्पाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवसँग छलफल गरेर प्रक्रिया तत्काल अगाडी बढाउन अनुरोध गरेका हुन् । नेपाल सरकारले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जग्गा दर्ता समिति गठन गरि लालपुर्जा वितरण प्रक्रिया अगाडी बढाउन आदेश दिइसकेको थियो ।

भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले यही असार भित्र लालपुर्जा वितरण गर्ने गरि मन्त्रालयले फाइल अगाडी बढाएर समिति गठनलाई फुकुवा गरेको बताउनुभयो । भुमि सुधार मन्त्रालयले बर्षाै अघि वितरण गर्नुपर्ने हो तर विविध समस्याले रामपुरमा पुर्जा वितरण हुन सकेन मन्त्री अर्यालले भन्नुभयो–अन्य केही स्थानका नागरिकले पुर्जा पाइसके अब पाल्पाको काम अड्काउनु हुदैन । मन्त्री अर्याल २ महिना अघि रामपुर आएका बखत यही बर्ष लालपुर्जा बाड्ने गरि प्रक्रिया अगाडी बढाएको बताएको केही दिनमा नै पुर्जा विहिन जग्गा दर्ताका लागि समिति गठनका लागि मन्त्रिपरिषद्बाट पास भएको थियो । आफ्नो घर जग्गाको मालिक आफैं हुन पाउनुपर्छ भन्ने हेतुले हामीले रामपुरलाई प्राथमिकतामा राखेका हौ अर्यालले भन्नुभयो । यसअघि अव्यवस्थित घर घडेरी दर्ता प्रक्रिया अगाडी बढेको थियो । सुकुम्बासी समस्या समाधान आयोग भएका बखत निवेदन माग गरेकोमा नगरपालिकामा लालपुर्जा विहिन ८ सय ५६ वटा निवेदन परेको थियो ।

रामपुर नगरपालिका वडा नम्बर ५,६,७ र ८ का बासिन्दा लालपुर्जा विहिन छन् । स्कुल सञ्चालनका लागि २०२९ सालमा पहिलो पटक स्कुलले घडेरी बिक्री गरेको थियो । २०३५ देखि सम्म तत्कालीन गाउँ पञ्चायतको निर्णय अनुसार रामतुलसी मावि र दरैठाटी माबिले स्थानीयलाई बिक्री गरेका जग्गा लालपुर्जा विहिन हुन् । २०५५ सालसम्म ८ सय ५२ वटा रसिद वितरण भएको भेटिएको छ भने त्यसबाहेक झण्डै १ सय ५० जति अव्यवस्थित बसोबास यहाँ रहेको रामपुर नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरमा परेका निवेदन र यहाँको प्रतिवेदन मन्त्रालयमा पठाइसकेको र स्थानीय तहले प्राथमिकतामा राखेर लालपुर्जा वितरण थाल्न मन्त्रालयलाई झकझक्याई रहेको बताउनुभयो । यहाँका नागरिकले पुर्जा पाउन पहल गरेको झण्डै ३५ बर्ष भइसक्यो । भुमि सुधार मन्त्रालयले विगतमा अन्य केही जिल्लामा पुर्जा वितरण गरेपनि रामपुरलाई भने न्याय गर्न सकेको छैन । लालपुर्जा नभएकै कारण अझ रामपुर बजार व्यवस्थित रुपमा फस्टाउन नसकेको स्थानीयको भनाई छ ।

करोडौं खर्चेर घर बनाएका लालपुर्जा बिहिनहरुले पुर्जा नभएरै सम्झौता हुन नसक्दा राम्रो सेवा सुविधा सहितको सेवामुलक तथा व्यापारिक प्रतिष्ठानलाई राख्न नसकिएको सुर्य प्रसाद श्रेष्ठले बताउनुभयो । बेझाँडका बाबुराम सिग्देलले घर रसिदका भरमा घर ठड्याएपनि कुनै काम गर्छु भन्दा पुर्जा नभएका कारण घर धितो राख्न नसकेको बताउनुभयो । घरको लालपुर्जा नभएपछि कुनै व्यवसायको लागि घर धितो राख्न नपाउदा कुनै काम गर्न नसकिएको कतिपयको भनाई छ । लालपुर्जा विहिन शहरका रुपमा रामपुर बजार दैनिक फस्टाएको छ । करोडौं लगानीमा धमाधम तला र भवन थपिएका छन् । बजार क्षेत्र झण्डै सबै पुर्जा विहिन हो । मुख्य रामपुर बेझाँड, किसानबारी र विजयपुर बजार लालपुर्जा बिहिन छन् ।

यही बजार क्षेत्रमा पुर्जा वितरणका लागि पहल गर्न गएको टोलीलाई प्रमुख जिल्ला अधिकारी यादवले आफु सकारात्मक रहेको बताउनुभएको प्रदेश सभा सदस्य युवराज खनालले बताउनुभयो । टोलीका सदस्यहरु संविधान सभाका सांसद राधाकृष्ण कडेंल, नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, राजु प्रसाद श्रेष्ठ र विनोद श्रेष्ठ र मालपोत कार्यालयका नायब सुव्वा देवेन्द्र पोखरेलले जग्गा दर्ता समिति गठन पुरा गरि यसको प्रक्रिया अगाडि बढाउन गरेको छलफलबाट प्रमुख जिल्ला अधिकारीको सकारात्मक सन्देश आफुहरुले पाएको बताएका छन् ।

२ साता अघि मात्र सरुवा भई जिल्लामा आउनुभएका प्रमुख जिल्ला अधिकारी यादवले रामपुर क्षेत्रको अबलोकन भेटघाट र लालपुर्जा वितरण प्रक्रियालाई पनि उत्तिकै महत्व दिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको संयोजक, नगरपालिकाका नगर प्रमुख, नापी कार्यालयका प्रमुख, बन कार्यालयका प्रमुख सदस्य र मालपोत कार्यालयका प्रमुख सदस्य सचिव हुने समितिको भेला डाकेर काम थाल्ने प्रजिअ यादवले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update