Erani Mahal
प्रदेश सरकारकाे लगानीमा पाल्पा-सालझण्डी जोड्ने मोटरबाटोको स्तरउन्नति सुरु
59724160_10156180525972023_6623162861210304512_n

भुवन रायमाझी पाल्पा, २५ बैशाख । पाल्पाको रैनादेवी छहरा–तीनगीरे–सुन्दरढुङ्गा र रुपन्देहीको सालझण्डी जोड्ने मोटरबाटोको कालोपत्रे गर्ने उद्देश्यसहित काम सुरु भएको छ । ५ नं. प्रदेश सरकारको लगानीमा पाल्पाको पश्चिम भेग सुगुरेढुङ्गादेखि रुपन्देहीको सालझण्डी जोड्ने २४ किलोमिटर सडकको कालोपत्रेको काम सुरु भएको हो ।


५ नं. प्रदेश सरकारले आगामी चार वर्षभित्रमा कालोपत्रे गर्ने उद्देश्यका साथ यो वर्षदेखि काम सुरु गरेको हो । यो वर्ष ग्राभेल गरी स्तरउन्नति गर्न ५० लाख लगानी गरेको ५ नं. प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।


बाटोको स्तरउन्नति भएपछि यस क्षेत्रका जनताको आर्थिक, सामाजिक विकास गर्न महŒवपूर्ण हुने भएकाले कालोपत्रे गर्ने उद्देश्यका साथ काम सुरु भएको उहाँले जानकारी दिनुभयो । सडक स्तरउन्नति गर्न आगामी वर्षमा पनि निरन्तर बजेट बढाएर लैजाने उहाँले बताउनुभयो । यो वर्ष काम गर्न भावना कन्सट्रक्सनलाई प्रदेश सरकारले ठेक्का दिईसकेको छ ।


पाल्पा, गुल्मी, अर्घाखाँची गरी तीन जिल्लाका सर्वसाधारण यात्रुहरूलाई मध्यनजर गर्दै प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेर काम सुरु गरेको प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले बताउनुभयो । उहाँले बाटोको स्तरउन्नति भएपछि शिद्धबावाको बैकल्पिक मार्गको रुपमा समेत यो बन्ने विस्वास गर्नुभयो । बाटो निर्माण शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण आचार्यले पहाड र तराई जोड्न यो बाटो कालोपत्रे हुनुपर्ने बताउनुभयो ।


यो बाटो स्तरउन्नति भयो भने गुल्मी, अर्घाखाँची र पाल्पाको पश्चिम भेगका जनता २० किलोमिटर छोटो दुरीमा बुटवल पुग्नेछन् । यस्तै शिद्धबावा र सिद्दार्थ राजमार्गमा दिनहुँ हुने ट्राफिक जामलाई समेत कम गर्न सकिने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । यो वर्ष नाली निर्माण, सेफ्टी वाल, ग्राभेल तथा कालोपत्रेको काम पनि हुने निर्माण व्यवसायीले जनाएको छ ।


कार्यक्रममा पूर्व सांसद यादव बहादुर रायमाझी, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख भिमा राना, नेकपा पाल्पाका नेता रामबहादुर राउत भुमिश्वर ढकाल, रिब्दकिोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी, नेकपाका रैनादेवी छहराका अध्यक्ष राम प्रसाद ज्ञवाली, सचिव मान बहादुर थामी लगाएतले मोटर बाटोको स्तरउन्नति र कालोपत्रे भएपछि यस भेगका जनतालाई यातायातमा सहज हुने बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update