Erani Mahal
प्राज्ञिक तथा अनुसन्धानात्मक लेखन सीप विकास कार्यशाला
MOSD 3

रानीमहल पाल्पा, २३ बैशाख । सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ५ को आयोजनामा सामुदायिक क्याम्पसका प्राध्यापकहरूका लागि आयोजित दुई दिने प्राज्ञिक तथा अनुसन्धानात्मक लेखन सिप विकास कार्यशाला गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।

पाल्पा, गुल्मी, अर्घाखाँची र नवलपरासी जिल्लाका विभिन्न सामुदायिक क्याम्पसका ३० जना प्राध्यापकहरू सहभागी यस गोष्ठीमा पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक पिताम्बर पौड्याल, त्रिभुवन क्याम्पस, पाल्पाका उपप्राध्यापक रामनाथ न्यौपाने र शिक्षा तालिम केन्द्र, पाल्पाका प्रशिक्षक गोपालप्रसाद वश्यालले सहजीकरण गर्नु भएको थियो ।

गोष्ठीमा उपप्राध्यापक पौड्यालले अनुसन्धान विधि तथा साधनहरूको छनोट, तथ्यांक प्रस्तुति तथा विश्लेषण कार्यका बारेमा, उपप्राध्यापक न्यौपानेले अनुसन्धान कार्यमा समस्या पहिचान, साहित्यिक तथा सैद्धान्तिक पुनरावलोकन जस्ता प्रारम्भिक कार्यहरू, अनुसन्धान खाका तथा सामग्री उद्दरण तथा सन्दर्भ ग्रन्थ सूचि निर्माण र प्रशिक्षक वश्यालले लेखनका आधारभूत सिप तथा जर्नल लेख लेखन सिप विकासको खाकाका सम्बन्धमा प्रस्तुति, छलफल र अभ्यास गराई सहजीकरण गर्नु प्रएको थियो ।


गोष्ठीको उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालयका सचीव कृष्ण प्रसाद ज्ञवालीले प्रदेश विश्वविद्यालयको स्थापनाका लागि परामर्श कार्यको शुरूवात भैसकेको, विशेषगरी कमजोर अवस्थामा रहेका सामुदायिक क्याम्पसको विकासका लागि मन्त्रालयबाट पहल भैरहेको, क्याम्पस प्रमुखहरूसँग अन्तक्र्रिया, विशेषज्ञहरूसँग परामर्श, शिक्षक प्राध्यापकहरूको क्षमता विकासका लागि कार्यहरू सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले उच्च शिक्षा शिक्षित बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो बनेकोमा चिन्ता ब्यक्त गर्दै देशलाई वास्तविक रूपमा आवश्यक दक्ष तथा अर्धदक्षता सिपयुक्त उत्पादन गर्ने कार्यका लागि क्याम्पसहरूको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक रोजगार संयोजक नियुक्तिको प्रसंग कोट्याउँदै सक्षम जनशक्तिको अभावमा देश विकास गर्न नसकिने बताउनु भयो ।


कार्यक्रम उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख उपसचीव थानेश्वर ज्ञवालीले मन्त्रालयले शुरू गरेका कार्यहरूको जानकारी गराउँदै सामुदायिक क्याम्पस र त्यहाँका प्राध्यापकहरूको क्षमता विकासका लागि पहल गरिएको बताउनु भयो । उहाँले गोष्ठीमा तोकिएको विषयवस्तुका अतिरिक्त उच्च शिक्षाको विकासमा आगामी वर्षका लागि मन्त्रालयले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव प्राप्त हुने अपेक्षा समेत गर्नु भयो ।


गोष्ठी समापन सत्रमा अनुभव बताउँदै ज्योति बहुमुखी क्याम्पस अर्घाखाँचीका उपप्राध्यापक विष्णुप्रसाद भट्टराईले खासगरी स्नातक तहका पाठ्यक्रममा आधारित लेखन सिप विकास शिक्षणका लागि सहयोगी हुने गरी सत्र निर्माण गरिएको भए पनि गोष्ठीमा लेखन सिप विकासका विविध पक्षहरूलाई सम्बोधन गरिएको बताउनु भयो ।

प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update