X
0
Shares

रूसमा जहाजमा आगो: कम्तीमा ४१ जनाको मृत्यु

अमृत अधिकारी || २३ बैशाख २०७६,सोमबार ०६:४६

विविसि । मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन्।

रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्।

स्वास्थ्य मन्त्रालयले छ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ।

एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको बताए।

पहिलो प्रयास विफल

ठूलो आगलागी र आपत्‌कालीन अवतरणको कारण अस्पष्ट नै छ।

उक्त जहाज सुखोइ सुपरजेट-१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।

समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्‌कालीन सङ्केत जारी गरेका थिए।

तर आपत्‌कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ।

‘फ्लाइटरेडार२४’ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्‌कालीन अवतरण भएको थियो।

धावनमार्गमै आगो

रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ।

उसको विज्ञप्तिमा आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ।

विमानमा आगो

संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन।

मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोले छोप्दा आफू विमानभित्र रहेको र हाम फाल्न सफल भएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys