X

विचारविज्ञानको वास्तविकतामा जीवन

अमृत अधिकारी || २१ बैशाख २०७६,शनिबार १४:४१

डा. उत्तम खनाल

हामीमा चिन्तन निरन्तर रूपमा उत्पन्न हुने गर्छ । हरेक क्षण हरेक पल एकपछि अर्को प्रतिप्रश्न गर्छांै कि विचार भनेको के हो ? कहाँबाट उत्पन्न हुन्छ ? विचारको के प्रभाव पर्छ जीवनमा ? विचारमा कति शक्ति छ ? विचारको स्वरूप कस्तो हुन्छ ? विचारलाई बदल्ने उपाय के छ ? विचारबाट के लाभ हुन्छ ? यिनै प्रश्नको तथ्यगत स्वरूपको चित्रण गर्ने हो भने वस्तुगत रूपमा विचारको विशेष रूप हुन्छ र रङ्ग पनि हुन्छ । यसैप्रकारले तिनमा जीवनशक्ति रहेको हुन्छ । 


विचारको उत्पत्ति र स्वरूप 
विचार तŒव अदृश्य छ र चर्मचक्षुद्वारा त्यसलाई देख्न सकिँदैन । विचारको उत्पत्ति परमाणुमय स्वरूपमा हुन्छ । ती परमाणु कति सूक्ष्म हुन्छन् भने तिनीहरूभन्दा सूक्ष्म र वेगवान्् अन्य कुनै पनि वस्तु संसारमै छैन । जुन वस्तुजति सूक्ष्म हुन्छ, त्यसको बल पनि उति नै बढी हुन्छ । सबैभन्दा सूक्ष्म हुनाका कारणले बिजुली आदि सारा वस्तुभन्दा पनि विचारको बल नै बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव अधिक तेजोबल हुन्छ । जस्तो ः माटोमा ढुङ्गाभन्दा पनि अधिक बल छ । ढुङ्गाभन्दा माटोमा जडता कम छ । त्यसैले ढुङ्गाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म र पातलो पनि छ । त्यसैले माटोभन्दा पानी बढी उपयोगी र बलवान् छ । पानीभन्दा बाफ सूक्ष्म छ र बाफभन्दा वायु आफैमा सूक्ष्म छ । अनि पानीभन्दा वायु अधिक बलवान् पनि छ । वायुभन्दा आकाश अर्थात् शब्द सूक्ष्म छ र शब्दको गतिभन्दा प्रकाशको गति बल धेरै छ । यसैले जगत्का सबै वस्तुभन्दा विचार र बुद्धि अति सूक्ष्म र बलवान् भएको वर्णन उपनिषद्मा गरिएको छ । 


एक अमेरिकी विद्वान्ले लेखेका छन् कि प्रकाशको गति एक लाख ८६ हजार माइल प्रतिसेकेन्ड भएझैँ विचारको गतिको प्रवाह ४० हजार नीलदेखि ७० हजार नील माइल प्रतिसेकेन्डसम्म रहेको हुन्छ । विचार शक्तिका लहरलाई दिनमा सूर्यका किरणले खण्ड–खण्ड गरिदिन्छन् जसबाट तिनको गति केही अवरोध (रोकावट) हुन जान्छ । रात्रिको समय या अन्धकारमा विचार शक्तिको वेग तीव्र हुन जान्छ । यस समयमा वेगलाई कसैले रोक्न पनि सक्दैन, कारण यसको गति प्रवाह बिनाअवरोध तीव्र हुने गर्छ । पाश्चात्य देशहरूमा यस विद्याको दिनदिनै उन्नति भइरहेको छ । यसैको सहायताले डाक्टरहरूले अनेक कठिन रोगको उपचार पनि सजिलै गरिरहेका छन् । हर्षको कुरा त के छ भने हाम्रा ऋषिमुनिको विद्याको अनुशरण पश्चिमी जगत्द्वारा अति तीव्रतासाथ भइरहेको छ । अतः हामीले पनि आफ्ना पूर्वजहरूद्वारा सम्पादित विद्यालाई पुनः विकसित गर्नुपर्छ, जसबाट हाम्रो सर्वाङ्गीण उन्नति हुन सकोस् । 
विचारको वेग 
विचार बिजुलीभन्दा पनि अधिक वेगवान् हुन्छ । बिजुलीले एक सेकेन्डमा सात पटक पृथ्वीको परिक्रमा गर्न सक्छ तर विचारको गति त्यसभन्दा पनि तीव्र छ । प्रत्येक वस्तुका चार अवस्था हुन्छन्– दृढ, तरल, वाष्पमय र तेजोमय । दृढ वस्तुमा कम्पनका गति मन्द तथा तरल र वाष्पमयमा तीव्र र तीव्रत्तर हुन्छ । यसैलाई सृष्टिक्रम भनिन्छ साथै चतुर्थ अवस्था प्रकाशमय छ । तिनै कम्पनको साधारण प्रभावबाट शब्द उत्पन्न हुन्छ । उनै कम्पनको तीव्र प्रभावले विभिन्न रङ्गहरूको रूप धारण गर्छ र कम्पनको भेदबाट रङ्ग प्रकाशमा पल्टन्छ ।

यी चार अवस्थाबाहेक अरू पनि स्थूल र सूक्ष्म अवस्था छन्, जसलाई देख्ने शक्ति हाम्रा स्थूल इन्द्रियमा छैन तर विज्ञानले तिनीहरूको पत्ता लगाउन थालेकोे छ । क्लार्क म्याक्सवेलले आफ्नो विद्युत् चुम्बक सिद्धान्तमा भनेका छन्– ती ताप, प्रकाश, विद्युत् आदि जुन सबै शक्तिको विकास हामी चारैतिर देख्छौँ, ती सबै विद्युत् चुम्बक तरङ्गहरू हुन् । तरङ्गकारमै ती वस्तु एक स्थानबाट दोस्रो स्थानमा जान्छन् । यी तरङ्गहरू कसमा चल्छन् वा कसका तरङ्गहरू हुन् ? यस प्रश्नको उत्तर दिन वैज्ञानिकहरूले इथर (आकाश तŒव) नामक एक काल्पनिक पदार्थको अस्तित्व स्वीकार गरेर सबै पार्थिक शक्तिलाई आकाश तŒवकै तरङ्ग मानिलिएका छन् । इथरका शक्तिहरूको लम्बाइको अनुसार नै विभिन्न शक्तिहरू बन्छन् । जसको लम्बाइ अधिक छ, त्यसको तापका तरङ्गहरू हुन्छन् । त्यसभन्दा छोटो प्रकाश र त्यसभन्दा पनि छोटो अति वैजनी रश्मिहरू हुन्छन् । जुन अति–वैजनी रश्मिभन्दा पनि छोटा छन् ती रज्जन रश्मि (एक्स–रे) हुन् । अर्को जुन अझ पनि साना छन् ती गामा रश्मि हुन् र जुन सबैभन्दा सानो छ, त्यसको नाम ह्यान्ड रश्मि (कस्मिक रे) हो । यी ब्रह्माण्ड रश्मिहरू विश्वमा सर्वत्र विद्यमान छन् । जहाँ सूर्यको प्रकाश पुग्न सक्दैन, त्यस ठाउँमा पनि यी रश्मिहरूको अस्तित्व रहेको हुन्छ । 
विचारको बल र परिणाम 
जब हाम्रा विचार बाहिरतिर जान्छन् तब तिनीहरू खाली हावामा उड्दैनन् । तिनीहरू त हाम्रो दिशालाई स्थिर परिवर्तित गर्न एवं धनवान् वा दरिद्र बनाउने कार्यलाई सिद्ध वा नाश गर्नमा मुख्य कारण हुन्छन् । हामीले आफ्ना विचारलाई उचित मार्गमा चलाउन जान्यौँ र चलाउन सक्यौँ भने समस्त दुःखबाट छुट्कारा पाई हामी परमानन्दमय जीवन व्यतीत गर्न सक्छौँ । ती विचारको मार्गलाई चलाउन जानिएन भने हाम्रो जीवनको गति ओह्रालो लाग्न सुरु गर्छ । 


मानिसमा विचारको अद्भुत बल छ । सयौँ मानिसले यस बलद्वारा कठिन कार्य गरिसकेका छन् । विचार एकपछि दोस्रो, दोस्रोपछि तेस्रो, त्यसपछि चौथो यसप्रकारले उठ्ने गर्छ । तिनहरूमध्ये कुनै तय हुन जान्छ तर जो दृढ हुन्छ त्यो सफलता प्राप्त नगरुन्जेल विलय हुँदैन । यसै प्रकार केही दृढ विचार नराम्रा पनि हुन्छन् । चोरले जब चोरी गर्छ, तब त्यो निन्दित कार्य पनि उसको विचारकै फल हो किनकि त्यो उसलाई राम्रो लागेको हुन्छ । दृढ विचार ती हुन् जो मन, वाणी र कर्मका साथै सात्विकता, निःस्वार्थपन तथा सत्यले पनि युक्त हुन्छन् । 
विचारको दोष 
सुखबाहेक अन्य विचारलाई मनमा आउन नदिनु किनभने मनमा सदैव जस्तो सोचियो उस्तै दशा प्राप्त हुन्छ । कोही धेरै दिनदशामा पुगेको छ भने उसको हीनताका कारण उसका विचार नै हुन्छन् । दुःख र दरिद्रताका विचारले दुःख र दरिद्रतालाई नै बढाउँछन् । 


विचारमा एकाग्रता शक्ति 
मानवशास्त्रका वेत्ताले के सिद्ध गरेका छन् भने मानिसले लिने प्रत्येक श्वासमा तीन–तीन नयाँ विचार उत्पन्न हुन्छ । अर्थात् एक मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छ हरेक मानिसमा । वायु, जलवाष्प, विद्युत्, अग्नि आदिका परमाणु जबसम्म भिन्नभिन्न भएर फैलिन्छन् तबसम्म तिनमा केही पनि शक्ति देखापर्दैन । तर, तिनलाई एकत्र गर्नाले तिनमा अद्भुत शक्ति उत्पन्न भई तिनबाट ठुल्ठूला काम लिन सकिन्छ । त्यसरी नै विचारको शक्ति पनि अपरिमित, अप्रतिहत र अप्रतक्र्य छ । ध्यानद्वारा तिनको विरोध गरियो वा त्यसको प्रवाहलाई रोकेर एउटै वस्तुमा स्थिर गरिन्छ भने तिनमा अद्भुत शक्ति उत्पन्न भएर साधकले जुन वस्तुको कल्पना गर्छ, त्यो उसको सङ्कल्पबाट मात्र प्राप्त हुन सक्छ । उपनिषद् भन्छ– एकाग्र चिन्तनले मानिस जुन वस्तुको कामना गर्छ, त्यो वस्तु सङ्कल्पबाट मात्र पनि उसलाई प्राप्त हुन्छ । 
विचारलाई व्यावहारिक बनाउन सकियो भने मानवीय जीवन उत्कृष्ट बन्छ, चिन्ताबाट मुक्त भई दुःखको अनुभूति गर्नुपर्दैन । क्षुद्र एवं नीच भावको विचारले जीवनमा यति धेरै घात गरिदिन्छ, जसको परिणाम मानिसले जीवनभरि पछुताउनुपर्ने हुन्छ ।

(लेखक वर्ड जर्नल अफ इन्जिनियरिङ रिसर्च एन्ड टेक्नोलोजीको सम्पादकीय बोर्ड कमिटीमा आबद्ध हुनुहुन्छ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys