Erani Mahal
आमाको मुख हेर्ने दिन  यसकाे महत्व के छ
sutkeri


रानीमहल काठमाडौं २१ वैशाख, । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ,’ गौतमले भने ।

शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । मातृदेवो भवः भनेर सबैभन्दा पहिले भनिन्छ । त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ । यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

मातातीर्थमा मेला

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । कतिपयले सामाजिक सन्जालमा आमाको तस्वीर शेयर गरेर सम्मान भाव प्रकट गर्दछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update