Erani Mahal
तीन स्थानमा संचालित कृषक पाठशाला रामपुरमा सकियो
58800314_335618647091022_3032280755318292480_n

सीता डोटेल पाल्पा । जिल्लाको रामपुरमा गत पुषदेखि र तीन छुट्टा–छुट्टै स्थान छुट्टाछुट्टै बालीमा चलेका आइपिएम कृषक पाठशालाको एकै थलोमा समापन भएको छ ।


रामपुर नगरपालिका ३ किर्तिपुरको किर्तिपुर आईपिएम कृषक पाठशाला, रामपुर ४ देविस्थानको कालिका आईपिएम कृषक पाठशाला र रामपुर ५ दध्रानको हरितक्रान्ति आईपिएम कृषक पाठशालामा चलेको कार्यक्रम सँगै सकिएको हो । आईपिएम कृषक पाठशाला अन्तर्गत किर्तिपुरमा गोलभेँडा र करेला, देविस्थानमा काँक्रा र दध्रानमा काँक्रा र गोलभेडा खेतीको व्यवस्थापन तथा रोग, किरा निराकरणको उपायका बारेमा पाठशाला चलेको थियो ।


रामपुर नगरपालिका कृषि शाखाले एकैथलोमा कार्यक्रम गरेर ३ वटै कृषक समुहको सहभागीतामा समापन कार्यक्रम गरेको हो । समापनमा बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले परिश्रम गरे कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताए । कृषक र युवाहरुलाई लक्षित गर्दै उनले युवा स्वरोजगार कार्यक्रम नगरपालिकाले ल्याएको बताउनुभयो । नगर प्रमुख थापाले ग्रामीण भेगका व्यवसायिक किसानलाई विना धितो ३ लाखसम्म र तल्लो भेगका कृषकहरुलाई धितो राखेर ३ लाखदेखि १२ लाखसम्म बिना व्याज ऋण प्रदान गर्न लागेको बताउनुभयो । साथै उनले स्थानीय तह र प्रदेश सरकारले ५ करोडको लागतमा शितभण्डार निर्माण प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।


सोही अबसरमा रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपाने, कार्यपालिका सदस्य सिमादेवी राना, वडा ३ का अध्यक्ष दिनेशकुमार खनाल र आर्थिक विकास समिति सदस्य कमलराज भट्टराईले तालिममा सिप ज्ञानलाई व्यवहारमा लागु गर्न सहभागीलाई सुझाव दिएका थिए । कार्यक्रममा पाठशालाका अध्यक्षहरु यमबहादुर सारु, दिलबहादुर थापा र शोभा पौडेलले पाठशाला अवधिभरमा प्राप्त गरेको उपलब्धी प्रस्तुत गरेका थिए । पाठशालाको सहजीकरण रामपुर नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डे, कृषि प्राविधिक सुशिल अधिकारी, मनिषा राई र सपना खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update