Erani Mahal
आर्यभाङ्ज्याङ्-माडी सराई-चर्चरे हुँदै बुटवल पुग्ने छाेटाे बाटाे खुल्याे
57446463_2215860802076224_219167370751508480_n
रानीमहल पाल्पा, ६ बैशाख । बावुबाजेले नुन सहित अन्य सामग्री बोक्न प्रयोग भएको गोरेटोमा अब सवारी गुड्ने भएको छ । जिल्लाको महत्वपूर्ण बैकल्पिक मार्ग बनाउन सकिने सिद्धार्थ राजमार्गस्थित कोलडाँडा चर्चरे–माथागढीको सराई–चिदीपानी आर्यभाङ्ज्याङ् सडकको ट्रयाक खुलेको छ । ५० वर्षअघि सिद्धार्थ राजमार्ग नबनेसम्म उत्तरी क्षेत्र, रामपुर, आर्यभाङ्ज्याङ्, माडी, स्याङ्जा, तनहुँ, काली नदी क्षेत्रका बासिन्दा यही बाटो भएर बुटवलसम्म पुग्ने गर्दथे । सिद्धार्थ राजमार्ग खुलेपछि भने यो गोरेटो बिस्तारै बिरानो बनेको थियो । तिनाउ गाउँपालिकाले आव २०७५/०७६ मा १० लाख बजेट विनियोजन गरेर चार किलोमिटर सडक बिस्तार गरेपछि अब आर्यभाङ्ज्याङ्बाट माडी सराई, कोलडाँडा हुँदै सिदार्थ राजमार्ग चर्चरे हुँदै बुटवलसम्म सिधैँ पुग्न सकिने भएको छ । आर्यभाङ्ज्याङ्बाट सिधैँ चर्चरे हुँदै बुटवल जाँदा १४ किलोमिटर नजिक पर्छ । यसअघि डिभिजन सडक कार्यालय पाल्पा र माथागढी गाउँपालिकाले चिदीपानीको बुढीकोट हुँदै आर्यभाङ्ज्याङ् निस्कने सडक बिस्तार गरेको थियो । यो सडक महत्वपूर्ण बैकल्पिक मार्ग बन्न सक्ने उद्देश्यले तिनाउ गाउँपालिकाले बजेट विनियोजन गरेर काम गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो । अब रामपुर, राम्दी, माडी, झडेवा, ताहुँ, सहित स्याङ्जाबाट आउने मानिस सिधैँ यो बाटो भएर बुटवलसम्म जान सक्ने उहाँले बताउनुभयो । यो वर्ष यो बाटोको ट्रयाक मात्र खुलेको र आगामी वर्षदेखि बाटोको स्तरउन्नति गर्दै जाने लक्ष्य रहेको उहाँले बताउनुभयो । ५ नं. प्रदेश सरकारले यो बाटोका लागि भनेर चर्चरे, बुढीकोट लगायतका स्थानमा पुल निर्माण गर्न सर्भे डिजाइनको काम गरिरहेको छ । पुल निर्माण गरी वर्षात्मा समेत यो सडकमा सवारी गुड्न सक्ने गरी काम छिट्टै प्रारम्भ हुने प्रदेश सभा सदस्य नारायण आचार्यले बताउनुभयो । उहाँले पाल्पाको माडी क्षेत्रका जनता, रामपुर, ताहुँ सहित यस भेगका जनतालाई यातायातको सुबिधा छिटोछरितो बनाउन यो सडक बैकल्पिक र महत्वपूर्ण मार्ग बन्न सक्ने उहाँले बताउनुभयो । दुरी र यात्राका दृष्टिले सहज हुने यो बाटो सबैको महत्वपूर्ण सडकको रुपमा स्थापित हुने तिनाउ गाउँपालिकाका स्थानीय बासिन्दा विष्णु थापाले बताउनुभयो । सडकको स्तरउन्नति गर्दै यसलाई सुधार गर्न तिनाउ र माथागढी गाउँपालिका सहित प्रदेश सरकारले ध्यान दिनुपर्ने थापाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update