Erani Mahal
पाल्पाको पूर्वखोलामा बोर्डिङ् स्कुल बन्द : सरकारीमा अंग्रेजी माध्यमकाे पढाई
1525414236
रानीमहल पाल्पा, ४ बैशाख । पूर्वखोला गाउँपालिका भित्र सञ्चालनमा रहेका ५ वटा नीजि बोर्डिङ् स्कुल सरकारी विद्यालयमा गाँभिएका छन् । शैक्षिक सत्र २०७६ देखि बोर्डिङ्को अस्तित्व नरहने गरी यहाँका ५ वटा नीजि बोर्डिङ् स्कुल सरकारी विद्यालयमा गाँभिएका हुन् । पूर्वखोलाको रिङ्नेरहमा रहेको पूर्वखोला बोर्डिङ् स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध माविमा गाँभिएको छ । यस्तै वीरकोटमा रहेको जोनन बोर्डिङ् स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती माविमा जल्पामै गाँभिएको छ । जल्पाको माउण्ट भ्यु बार्डिङ् स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ् स्कुल मातृभूमि माविमा गाँभिएको पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो । पूर्वखोलाका पाँच वटै बोर्डिङ् स्कुलमा कक्षा ५ सम्म अध्ययन् हुने गरेको थियो । ५ वटा बोर्डिङ् स्कुलमा ५ सय ८५ जना जना विद्यार्थी अध्ययन्रत थिए भने ५३ जना शिक्षक तथा कर्मचारी थिए । कर्मचारी र शिक्षक सबैको तलबभत्ता यो शैक्षिक सत्रदेखि सम्बन्धित सरकारी विद्यालयले बेहोर्ने सूचना अधिकारी ढकालले बताउनुभयो । गाउँपालिकाले गत वर्ष गाउँशिक्षा सुधार कार्यदल र प्राविधिक कार्यदल बनाएर बोर्डिङ् स्कुल तथा सरकारी विद्यालयको अनुगमन गरेर प्रतिवेदन तयार गरेको थियो । उक्त कार्यदलको सुझाव प्रतिवेदनका आधारमा बोर्डिङ् स्कुलको भौतिक पूर्वाधार गाउँपालिकाले खरिद गर्नेछ । शिक्षक र कर्मचारीलाई हटाइएको छैन । उनीहरूले अहिले सरकारी विद्यालय मातहतमा रहेर अध्यापन कार्य गर्ने र बोर्डिङ् स्कुल रहँदामा खाईपाई आएको सुबिधा पाउनेछन् । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले ५ वटा बोर्डिङ् स्कुलको जग्गा, भवन र फर्निचर सामग्रीका दुई करोड १५ लाख ४६ हजार मुल्याङ्कन गरेको बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ भित्र गाँभिएका बोर्डिङ् स्कुल सञ्चालकलाई जग्गा, फर्निचर र भवनको मुल्याङ्कन क्षतिपूर्ति दिइनेछ । सङ्घीय, प्रदेश र दातृ निकायसँग सहकार्यमा मुल्याङ्कनको रकम फिर्ता गर्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । आगामी पाँच वर्षभित्र यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने र शिक्षामा एकरुपता ल्याउने कार्ययोजनालाई गाउँपालिका अघि बढाएको छ । पाल्पा जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाले नीजि बोर्डिङ्मा अभिभावकको ढाड सेक्ने गरी मासिक, भर्ना तथा अन्य विभिन्न नामका शुल्क बढाएका बेला पूर्वखोला गाउँपालिकाले भने यहाँको सबै बोर्डिङ्लाई सरकारी विद्यालयमा मर्ज गरेर अघि बढेको हो । पाल्पाको पूर्वखोलाबाहेक अन्य स्थानीय तहले भने बोर्डिङ् स्कुलको स्तरउन्नति गर्ने गरी अनुमति र निर्माणका काममा र मासिक तथा भर्ना शुल्क बढाउने निर्णय गरेका छन् । सरकारी विद्यालयमै अंग्रेजी माध्यम्को पढाई हुने भएपछि भने यहाँका अभिभावक पनि खुसी भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update