Erani Mahal
नेपालकाे भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा आज राति प्रक्षेपण हुने
57398621_648897872213238_8275814230297411584_n
काठमाडाैँ, ४ बैशाख । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा आज (बुधबार) राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ । यो नानो स्याटेलाइटको नाम ‘नेपाली स्याट वान’ राखिएको छ । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गर्न सबै तयारी सकिएको छ । यो स्याटेलाइट अन्तरिक्षमा पुग्न करिब एक महिना समय लाग्ने अनुमान गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका बरिष्ठ वैज्ञानिक रविन्द्र ढकालले जानकारी दिनुभयाे । स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागिएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ । यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । प्रक्षेपणका लागि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेलाई यो स्याटेलाइट हस्तान्तरण भइसकेको छ । वैज्ञानिक रविन्द्र ढकालका अनुसार यो स्याटेलाइट जेठको पहिलो वा दोस्रो साता अन्तरिक्षमा रिलिज हुनेछ । त्यसपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ । ‘यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि हामी पनि अध्ययन अनुसन्धान थाल्न सक्छौं,’ ‘स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ ।’ ढकालले भन्नुभयाे । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नाष्टको भनाइ छ । यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update