Erani Mahal
वैदेशिक राेजगारीले पाल्पामा 'सम्बन्ध बिच्छेद' बढ्याे
images
रानीमहल पाल्पा, ३ बैशाख । बैदेशिक रोजगारीले पाल्पामा सम्बन्ध विच्छेदका घट्नामा बृद्धि भएको छ । पछिल्लो तीन वर्षको अबधिमा बैदेशिक रोजगारीमा रहेका जोडी सम्बन्ध बिच्छेदका लागि अदालतसम्म धाउने गरेका छन् । विदेशमा जाने युवा जोडी सम्बन्ध बिच्छेदका लागि स्थानीय तह र जिल्ला अदालत पाल्पासम्म धाउने गरेका छन् । बढ्दो आधुनिकता र सामाजिक संजाल सम्बन्ध बिच्छेदको मुख्य कारक तत्व बनेको छ । चालु आव २०७५/०७६ को चैत मशान्तसम्मको अबधिमा १ सय ७७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । यो गत वर्षको तुलनामा झण्डै शतप्रतिशत बढी हो । गत वर्ष एक वर्षको अबधिमा मात्र १२० सम्बन्ध बिच्छेदका मुद्दा परेको थियो । पाल्पा जिल्ला अदालतका अनुसार आव २०७२/०७३ मा १०१, २०७३/०७४ मा १०८ र २०७४/०७५ मा १२० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । यो मुद्दाको संख्या हरेक वर्ष बढ्दो छ । पछिल्लो समय गाउँपालिकालाई समेत सम्बन्ध बिच्छेदका मुद्दा हेर्ने अधिकार प्राप्त भएपछि गाउँपालिकामै सम्बन्ध बिच्छेदका मुद्दा आउने गरेका छन् । पाल्पाका दश नपा र गापामा परेका मुद्दाको संख्यामा पनि सम्बन्ध बिच्छेदका बढी नै छन् । यो क्रम निरन्तर बढ्ने संकेत छ । श्रीमान् श्रीमतीका बीचमा आपसी बुझाई कम नहुँदासम्म यो मुद्दा बढ्नेछ । यो आव सकिन अझै तीन महिना बाँकी छ । तर यो चालु आवको अहिलेसम्म १ सय ७७ वटा मुद्दा दर्ता हुनु यसको संख्यामा भारी बृद्धि हो । यो वर्ष पुरुषले समेत सम्बन्ध बिच्छेदका मुद्दा दिन पाउने व्यवस्था हुँदा पनि मुद्दा बढेको जिल्ला अदालत पाल्पाले जनाएको छ । यो वर्षको चालु अबधिमा ७४ जना पुरूषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेका छन् । यसअघि पुरुषले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न पाउने थिएनन् । तर मुलुकी संहिता २०७५ भदौँ १ गतेदेखि लागू भएपछि पुरुष समेत अदालतमा धाएका छन् । यो चालु आवको चैत मशान्तसम्मा १ सय ३० जना महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गर्न पाउँ भनी मुद्दा दर्ता गरेका छन् । महिलाले दिएका मुद्दामध्ये १ सय १ थान मुद्दा फर्छ्यौट भएको अदालतका तहशीलदार भेषराज खनालले जानकारी दिनुभयो । फर्छ्यौट भएका मुद्दा मध्ये अधिकांश मुद्दामा भने मेलमिलाप भएको छ । तर पुरुषले दिएको मुद्दाको भने अहिलेसम्म टंगो लागेको छैन । पुरुषको मुद्दा संहितामा व्यवस्था भए बमोजिम एक वर्षपछि मुद्दा उपर टुंगो लाग्नेछ । बैदेशिक रोजगारी र बढ्दो सामाजिक संजाल प्रयोगका कारण सम्बन्ध विच्छेदको मुद्दा बढेको अदालतको भनाई छ । श्रीमान् कमाउनका लागि विदेशमा जाने श्रीमती यहाँ अन्य परपुरुषसँग सम्बन्ध गास्ने क्रम बढेको छ । यस्तै श्रीमान्ले घरमा बस्ने श्रीमतीलाई वास्ता नगर्नाले पनि सम्बन्ध बिच्छेदका मुद्दा बढेको छ । बढ्दो सामाजिक संजाल फेसबुक, म्यासेन्जर, भाइभर, इमोको प्रयोगबाट समेत सम्बन्धमा दरार आएको तहशीलदार खनालको भनाई छ । सामाजिक संजालको सही सदुपयोग भन्दा पनि कोही मानिससँग सम्बन्ध रहेको देखेपछि शंका उत्पन्न भई सम्बन्ध बिग्रेको धेरै उदाहरण छन् । सामाजिक संजालको सहयोगमार्फत चिनजान नभएका र चिनजान भएका मानिससँग पनि सम्बन्ध गास्न सहज भएका कारण श्रीमान् र श्रीमतीका बीचमा शंका बढेको तथ्यांक छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update