Erani Mahal
सिद्धबाबामा बन्ने सुरुङमार्गको विस्तृत अध्ययन असारभित्र सम्पन्न हुने
surung
रानीमहल काठमाडौं, २ बैशाख । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माण गर्ने भनिएको सुरुङ मार्गको विस्तृत अध्ययन यही असराभित्रै सम्पन हुने सडक विभागले जानकारी दिएको छ। याे आयाेजनाको विस्तृत अध्ययनकाे काम स्वीट्जरल्यान्ड सरकारको सहयाेगमा भइरहेको छ। पहिरोको अति जोखिम क्षेत्र मानिने सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले योजना अघि सारेको छ। चालु वर्षको बजेटमा यो वर्ष विस्तृत अध्ययन सम्पन्न गर्ने सरकारले घोषणा गरेको थियो। यसअघि पूर्वसम्भाव्यता अध्ययन पनि स्वीस सरकारले नै गरिदिएको थियो। अर्थ मन्त्रालयले देशभरका ६ सुरुङ मार्गको विस्तृत अध्ययन गरिदिन ३ मित्र राष्ट्रलाई आग्रह गरेको थियो। त्यसमध्ये जापानले कोटेश्वरमा पूर्व सम्भाव्यता अध्ययन गरिरहेको छ भने अरु चारमा कसैले चासो देखाएका छैनन्। बजेटमार्फत् सरकारले टोखा–छहरे, सिद्धबाबा, बीपी राजमार्गको खुर्कोट–चियाबारी, दिपायलको विपिननगर–खुटिया र थानकोट–चित्लाङमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। त्यस्तै कोटेश्वर–जडिबुटीमा पनि सरकारले सुरुङ बनाउन अध्ययन गर्ने घोषणा गरेको छ। सिद्धबाबा सुरुङको विस्तृ अध्ययन प्रतिवेदन यही आर्थिक वर्षभित्र तयार हुने सडक विभागका महानिर्देशक सञ्जय शर्माले बताउनुभयाे। ‘अहिले यो सुरुङको डिजाइनको काम धमाधम भइरहेको छ यही वर्षभित्र सम्पन्न भएर अर्को हामी निर्माणका लागि जान्छौं होला’ शर्माले भन्नुभयाे । सुरुङ मार्ग निर्माण भए पहिरोको कारण बर्षेनी दर्जनौको संख्यामा हुने अकाल मृत्यु रोकिने अपेक्षा गरिएको छ । बुटवल दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् । यसअघि अर्थ मन्त्रालयले ६ वटा सुरुङ मार्गको अध्ययन गर्न दातृ मुलुकहरूसँग प्राविधिक सहयोग दिन प्रस्ताव गरेको थियो। याे समाचार सेताेपाटीले लेखेकाे छ । अर्थ मन्त्रालयले सुरुङको अनुभव र प्रविधि भएका मुलुकसँग अध्ययन तथा प्राविधिक सहयोग गरिदिन प्रस्ताव गरेको थियो। चीन, जापान र स्वीट्जरल्यान्डलाई २÷२ वटा सुरुङको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाइदिन मन्त्रालयले प्रस्ताव गरेको थियो । सरकारले प्रस्ताव गरेकामध्ये दुई मुलुकले काम अघि बढाएका छन् भने चीनले कुनै चासो दिएको छैन।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update