X
0
Shares

सामुदायिक रेडियाे मदनपाेखराकाे वार्षिकाेत्सव सम्पन्न

अमृत अधिकारी || २३ चैत्र २०७५,शनिबार १६:०९

रानीमहल पाल्पा, २३ चैत । सामुदायिक रेडियो मदनपोखरा सारेम पाल्पाले शनिबार एक्काइसौँ शुभजन्मोत्सव भव्यताका साथ मनाएको छ । दक्षिण एशियाको पहिलो ग्रामीण रेडियो सामुदायिक मदनपोखराले रेडियो घरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले समुदाय र रेडियोबीचको सम्बन्धले नै यो दिगो बन्न सकेको बताएका छन् ।

सभाका वक्ताहरूले प्रविधिमा आएको नविनता भित्र्याउँदै स्थानीय समुदायका समस्या उजागर गर्न ध्यान दिन रेडियोलाई आग्रह गरेका छन् । सारेमका संस्थापक अध्यक्ष यमप्रसाद पाण्डेयले जनताले हिजो पनि साथ दिएका थिए, भोलि पनि साथ सहयोग दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका वडा नं ८ का वडाअध्यक्ष रामप्रसाद घिमिरे, तानसेन ९ का वडाअध्यक्ष हरिसुमर रेग्मी, नेपाल रेडक्रस सोसाइटीका सभापति बुद्धिप्रसाद शर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज पौड्याल, दमकडा माध्यमिक विद्यालयका प्रधानअध्यापक मोहन प्रसाद सापकोटाले शुभकामना दिनुभयाे ।

यस्तै दिव्य ज्योति माध्यमिक विद्यालयका प्रधानअध्यापक नारायणप्रसाद अधिकारी, शारदा माध्यमिक विद्यालयका प्रधानअध्यापक केशवराज अर्यालले मदनपोखराले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको सुधारका लागि महŒवपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

सभामा स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले ३९ लाख बराबरको आयव्यय विवरण पेश गर्नुभयो । सारेममा स्थापित शिक्षा पुरस्कार तानसेन ३ का मिनबहादुर केशी र लोक संस्कृति पुरस्कार पूर्वखोला १ निवासी श्यामबहादुर दिश्वालाई प्रदान गरिएको छ ।

यसैगरी उत्कृष्ट कर्मचारी पुरस्कार विजय बौडेललाई र रेडियो प्रतिनिधिहरु भुवन सिंजाली र गणेश दर्लामीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । विगतमा सारेममा सेवा गरेका ६३ जना पूर्व कर्मचारीलाई योगदानको कदर गर्दै सम्मानसमेत प्रदान गरिएको थियो ।

शुभजन्मोत्सव सभामा बोलीको नयाँ अंक विमोचन र सारेम भित्तेपात्रो लोकार्पण गरिएको छ । सभामा पत्रकार रेखीराम राना, पूर्व कर्मचारी मुना घिमिरे, पुर्षोत्तम अर्याललगायतले पनि शुभकामना दिनुभयो । साहित्यकार टंक पन्थले बोली शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

समुदायवाद र सामुदायिक रेडियो विषयक परिसंवाद विषयक सामुदायिक संवादमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सारेमले समुदायवादको एउटा दृष्टान्त पेश गरेको र भविष्यमा पनि समुदायकै हितवर्धनको बाटोमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक रेडियो अभियानकर्मी गुणाकर अर्यालले सारेमले नै नेपालमा सामुदायिक रेडियोको अभियान सुरु गरेको दावी गर्नुभयो ।

सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जीसीले रेडियोले जनताको मुहारमा खुशी ल्याउने दिशामा प्रसारण केन्द्रित गरेको र भोलिका दिनमा पनि त्यो भूमिका निर्वाह गर्ने बताउनुभयो । २०५५ साल पुस १८ गते सञ्चार मन्त्रालयबाट पहिलो पटक इजाजत प्राप्त गरेको यस रेडियोले २०५६ साल चैत २३ गतेबाट प्रसारण आरम्भ सुरु गरेको हो ।

हाल सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा, पाल्पाको नाममा इजाजत लिएको यो रेडियो अहिले दैनिक १७ घण्टा प्रसारणमा रहेको छ । रेडियोले स्थानीय समुदायका अग्रसरता र मौलिक अभियानहरूलाई प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys