पाल्पाकाे बाँसटारीमा आजदेखि कृषि, पर्यटन महाेत्सव सुरू (फाेटाे फिचर)
अमृत अधिकारी || २२ चैत्र २०७५,शुक्रबार १२:२३
रानीमहल पाल्पा, २२ चैत । पाल्पाको बाँसटारीमा शुक्रबारदेखि कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । यस क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचारप्रसार, कृषि बस्तुको प्रदर्शनी तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ११ दिने महोत्सवको आयोजना गरिएको हो ।
तानसेन–७ को वंशगोपाल युवा क्लबको आयोजनामा ‘नयाँ वर्ष नयाँ सोच, युवाका लागि छ, प्रगतिको श्रोत’ भन्ने नाराका साथ बाँसटारीमा महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री तथा प्रतिनिधीसभाका सांसद सोमप्रसाद पाण्डेयले युवामा रहेको नयाँ सोच र सिर्जनशिलताले महोत्सव सफल हुने बताउनुभयो ।
बैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका सामग्रीका स्टलहरू छन् । दुई सय बढी स्टलहरू रहेको महोत्सवमा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुती समेत रहेको मूल आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिनुभयो ।
पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाँची लगायतका जिल्लाहरूबाट दर्शक आउने तथा एक करोड ४० लाख बढीको कारोवार हुने तानसेन–७ का वडा अध्यक्ष मुक्तिराम जिसीले बताउनुभयो । -तस्विर सबै कमल अधिकारीबाट ।