पाल्पामा कृषि पर्यटन तथा सांस्कृतिक महाेत्सवकाे तयारी पूरा
अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार १४:०८
रानीमहल पाल्पा, २० चैत । चैत २२ गतेदेखि पाल्पाकाे बाँसटारीमा हुन लागेको कृषि पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ । बाँसटारीस्थित वंशगोपाल यूवा क्लबको आयोजनामा बाँसटारीमा कृषि पर्यटनको प्रवर्धन, सांस्कृतिकाे संरक्षण र खेलकुद मैदान निर्माण गर्न महाेत्सवकाे आयोजना गरिएकाे हाे ।
चैत २२ गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुने महाेत्सव गर्न आवश्यक सबै तयारी पूरा भएकाे आयोजककाे भनाइ छ । महाेत्सवमा २ सय २० वटा स्टलहरुमा कृषि घरेलु उद्योग कुटीर उद्योग, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीका उत्पादन राखिनेछ । तानसेनमा बुधबार पत्रकार सम्मेलन गर्दै आयाेजकले महाेत्सव तयारीका बारेमा जानकारी दिएकाे हाे ।
महाेत्सव अबधिमा १ करोड ५० लाखसम्मको कारोबार हुने लक्ष्य राखेको र मेलाबाट संकलित रकमले खेल मैदान निर्माण गरिने मेला आयोजक समितिका संयोजक प्रदिप खनालले जानकारी दिनुभयाे ।
मेलामा पाल्पाका धार्मिक, तथा पर्यटकीय स्थलको फोटो प्रदर्शनी, स्थानीय लोक सस्कृतिमा आधारित, सास्कृतिक कार्यक्रम र राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको आयोजना हुने जसको प्रथम पुरस्कार १लाख राखिएको मूल आयोजक समितिले जनाएको छ ।
मेलामा रहेका स्थलहरु मध्ये ८० प्रतिशत स्टलहरु बुकिङ्ग भएको, हस्तकला, कृषि तथा होटेलहरुको स्टल छुटाछुटै व्यवस्था गरिएको साथै चिडिया घरको समेत व्यवस्था रहेको र प्रचार प्रसार तीब्र गतिमा भएको छ ।

मुख्य व्यापारिक तथा शहरी क्षेत्र भन्दा बाहिर पहिलो पटक आयोजित मेलामा आयोजकले ५० हजारदेखि १ लाख दर्शक भित्र्याउने र एकदेखि डेढ करोडको कारोबार हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्माले मेला सफलताकाे शुभकामना दिनुभयाे । कार्यक्रममा तानसेन वडा नं. ७ का वडा अध्यक्ष मुक्तिराम जिसीले धन्यवाद र श्रीकृष्ण पाेखरेलले संचालन गर्नुभएकाे थियाे ।