पाल्पामा पत्रकार कुटिएकाे घटनापछि विभिन्न संस्थाद्वारा निन्दा
अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १४:०२
रानीमहल पाल्पा, १६ चैत । पाल्पामा पत्रकार महासंघका अध्यक्ष सहित पत्रकार कुटिएको घटना प्रति जिल्लामा सरोकारवाला विभिन्न पार्टी तथा संघ संस्थाले निन्दा गरेका छन् ।
शुक्रवार पत्रकार महासंघका अध्यक्ष राजेश कुमार आर्याल र सदस्य विजय बौडेलमाथी भएको सांघातिक हमलाको चौतर्फी निन्दा गरिएको छ ।
पत्रकार कुटपिटको घटना प्रति नेपाल कम्प्यूनिष्ट पार्टी नेकपा पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पा, तानसेन नगरपालिका, नागरिक समाज पाल्पा, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, पत्रकार महासंघ केन्द्र र प्रदेश कमिटि, पाल्पा व्यापार संघ, युवा संघ नेपाल पाल्पा, वाइसिएल नेपाल पाल्पा, अनेरास्ववियू क्रान्तिकारी पाल्पा, अनेरास्ववियू पाल्पा, स्वतन्त्र पत्रकार संघ, सामुदायिक रेडियाे मदनपाेखरा लगायतका संघ संस्थाले विज्ञप्ती प्रकाशित गर्दै खेद प्रकट गरेका हुन् ।
उनीहरुले दोषीलाई कडा कारवाहीको माग गर्दै आयिन्दा यस्तो घटना नदोहोराउन समेत चेतावनी दिएका छन् । उनीहरुले विज्ञप्तीमा भनेका छन् पत्रकारलाई समाचार लेखन तथा प्रकाशन गरेको रिसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै हातपात गरेको घट्नामा पाल्पाका विभिन्न संघ संस्थाले विज्ञप्ती, सामाजिक संजाल लगायतबाट विरोध गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले उहाँहरुलाई तानसेन नगरपालिका हातामा कुट्पिट गरेका थिए ।
पत्रकारलाई कुटपिट गरेपछि प्रहरीले बाबुराम विष्ट, शैलेन्द् भट्टराइ र लक्ष्मण रेग्मी गरी ३ जनालाई गिरफतार गरेर अनुसन्धान समेत अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताउनुभएको छ । उनीहरुलाइ सार्वजनीक अपराध अन्तर्गत मुद्धा चलाउने तयारी भइरहेकाे उहाँले बताउनुभयाे । प्रहरीले ३ जनालाई पक्राउ गरेर लगे पछि संर्घष समिति र पाल्पा उद्योग वाणिज्य संघले बजार र यातायात बन्दको समेत आव्हान गरेको छ ।