पत्रकार कुटिएको घटनाप्रति विभिन्न संघ संस्थाद्वारा खेद व्यक्त
अमृत अधिकारी || १५ चैत्र २०७५,शुक्रबार १४:४१
रानीमहल पाल्पा, १५ चैत । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र सदस्य विजय कुमार बौडेल कुटिएको घटना प्रति विभिन्न संघ संस्थाले भ्रत्सन र खेद व्यक्त गरेका छन् । पत्रकारलाई समाचार लेखन तथा प्रकाशन गरेको रिसमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै हातपात गरेको घट्नामा पाल्पाका विभिन्न संघ संस्थाले विज्ञप्ती, सामाजिक संजाल लगायतबाट विरोध गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा, स्वतन्त्र पत्रकार संघ लगायत विभिन्न संस्था र व्यक्तिहरुले विज्ञप्ती र सामाजिक संजालमार्फत खेद प्रकट गरेका हुन् । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, सचिव किरण कौशल, प्रेस सेन्टर पाल्पाका अध्यक्ष रेखीराम राना, प्रेस चौतारी पाल्पाका अध्यक्ष राजेन्द्र लिगल, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराई लगायतले विज्ञप्ती मार्फत कुटपिटको घटनाको खेद व्यक्त गरेका हुन् ।
तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले उहाँलाई तानसेन नगरपालिका हातामा कुट्पिट गरेका हुन् ।