X
0
Shares

बुटवल-नारायणगढ सडकलाई ६ लेनकाे बनाउन काम सुरू

अमृत अधिकारी || ६ चैत्र २०७५,बुधबार ०६:००

रानीमहल बुटवल, ६ चैत । प्रदेश ५ काे सुन्दर शहर बुटवल– प्रदेश ३ काे अर्काे शहर नारायणघाट जाेड्ने सडकखण्ड (बुटवल-नारायणघाट) सडक विस्तारको काम सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरेर याे क्षेत्रकाे सडक बिस्तारकाे काम सुरू गरेकाे हाे ।

दुई लेनबाट ६ लेनमा विस्तार गर्न गर्ने गरी उक्त क्षेत्रमा सडक बिस्तारकाे काम भइरहेकाे छ । माघ २४ मा भएको सम्झौताअनुसार पहिलो चरणको विस्तारको काम वि.स. २०८४ साउन २२ मा सम्पन्न हुनेछ ।

सम्झाैता अनुसार २०८४ साल साउन २१ सम्म निर्माण कम्पनीले नै मर्मत गर्नेछ भने यो योजनामा मर्मतको अवधि ४ वर्ष राखेर नयाँ परिक्षण गर्न लागिएको छ ।

तस्विर :गुगल ।

सडक विभागले एसियाली विकास बैंकको ३२ वर्षे ऋण सहयोगमा सडक विस्तार हुन थालेको हो । सडक निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । त्यसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ । थप रकम नेपाल सरकार र एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडीबीको आयोजना निर्देशनालयले जनाएको छ ।

आयोजना निर्देशक दीपक श्रेष्ठका अनुसार दुई खण्डमा निर्माण हुने सडकका लागि निर्देशनालयले माघ २४ गते नै सम्झौता गरिसकेको छ । निर्देशनालयका अनुसार १ सय १३ किमिलाई दुई खण्डमा विभाजन गरेर काम सुरू गरिएकाे हाे ।

अहिले सडक विस्तारका लागि निर्माण कम्पनीले रजहर, भूमहीमा क्याम्प निर्माण गरी काम सुरु गरेको छ । आरुङखोलामा सामग्री राख्नका लागि क्याम्प निर्माण भइरहेको आयोजनाका इन्जिनियर युवराज पाण्डेले बताउनुभयाे ।

‘सडक विस्तारको प्रारम्भिक काम सुरु भइसकेको छ,’ इन्जिनियर पाण्डेले भन्नुभयाे, ‘अहिले सडक निर्माणको क्षेत्रमा पर्ने रुख कटानका लागि लगत संकलन गर्ने काम भइरहेको छ ।’

पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किमि र दोस्रो खण्ड दाउन्नेदेखि बुटवल चौराहासम्म ४८ किमी छ । गैंडाकोट–दाउन्ने खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको बुटवल–नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले जानकारी दिनुभयाे ।

अहिले बुटवल–नारायणगढ सडक दुई लेनको छ । अबको ५ वर्षमा पूरै सडक ६ लेनको बन्नेछ । सडकको २ लेनको बीचमा तीन मिटरको ‘ग्रिनरी’ भाग रहनेछ । जहाँ सदावहार हरियाली देखिनेछ । विस्तारित सडक दुईतर्फ नै ७–७ मिटरको बन्नेछ । एक लेन साढे ३ मिटरको हुनेछ । बस्ती क्षेत्रको झन्डै २८ किमि खण्डमा ७ मिटरको सर्भिस लेन समेत निर्माण हुने आयोजना प्रमुख न्यौपानेले उल्लेख गर्नुभयाे ।

सडक अन्य विकसित देशका जस्तै आकर्षक र हरियाली बन्नेछ भने वातावरणीय सुन्दरता समेत बढाउने गरी सम्झौता भएको छ । उकालो र ओरालो पहाडी क्षेत्र रहेको दाउन्ने खण्डको १२ किमिमा ३ लेन मात्र हुनेछ । त्यहाँ उकालोमा गुड्ने सवारी साधनले २ लेन र ओरालोमा गुडिरहेको सवारी साधनले १ लेन प्रयोग गर्नेछ । दाउन्ने पहाडको ८ किमी खण्डमा भने सडक २ लेन मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys