तानसेनमा मनपरी पाइलै पिच्छे सडक ब्रेकर
अमृत अधिकारी || ५ चैत्र २०७५,मंगलवार ०९:१९
रानीमहल पाल्पा, ५ चैत । जिल्ला सदरमुकाम तानसेनका बजारहरुमा अनुमति विना नै पाइलै पिच्छे ब्रेकरहरु निर्माण गरिएको छ । स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने नगरका विभिन्न टोल, गल्लीहरुमा तानसेन नगरपालिकाको स्वीकृति विनानै निर्माण गरिएको छ ।
तानसेनको नारायणस्थानदेखि माथि सित्तलपाटी जानेबाटोमा घरै पिच्छे ब्रेकर अनवश्यक रुपमा राखिएको छ । सडक मापदण्ड विपरित स्थानीय केही व्यक्तिहरुले मनोमानी रुपमा सडक ब्रेकर राखेका हुन् ।
ब्रेकरले दुर्घटना बढाउने र साना सवारी साधनलाई अनावश्यक अवरोध गरेको गुनासो बढेको छ । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले जथाभावी सडक ब्रेकर राख्न नमिल्ने बताउनुभयो । उहाँले वडा पालिकासँग बुझेर ब्रेकर हटाउन लगाइने उल्लेख गर्नुभयो ।
तानसेन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले महिला समूहले राखेको ब्रेकर तुरुन्त हटाउने जानकारी दिनुभयो ।
सडकमा सम्बन्धित कार्यालयको स्वीकृतिमा मात्र उपयुक्त स्थानमा ब्रेकर राख्न पाइन्छ । तर तानसेनका सबै सडकमा ब्रेकर राख्न मिल्ने अवस्था भने छैन ।