X

रूपन्देहीमा अष्ट्रिच हेर्न स्वदेशी र विदेशी पर्यटक

अमृत अधिकारी || ४ चैत्र २०७५,सोमबार १२:५९

रानीमहल बुटवल, ४ चैत । रुपन्देहीमा व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ । जिल्लामा विश्वकै ठूलो पंक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा अनुसन्धान केन्द्र, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढाएको हो ।

तिलोत्तमा नगरपालिकाको गङ्गोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट अस्ट्रिच नेपाल प्रालिले वार्षिक ६० लाख रुपियाँ आम्दानी गर्दै आएको जनाएको छ ।

लुम्बिनी आउने आन्तरिक पर्यटकमध्ये ५० प्रतिशत अस्ट्रिच हेर्न आउने गरेका छन् । तीमध्ये करिब २० प्रतिशत बाह्य पर्यटक हुने गरेको सो कम्पनीले जनाएको छ ।

विश्वका सीमित देशमा मात्र अस्ट्रिच पालन हुने भएकाले बाह्य पर्यटकलाई यसले आकर्षित गरेको छ । दक्षिण कोरिया, मलेसिया, चीन, जापान, नेदरल्यान्ड, इजरायल, भारतका राजदूत, उच्चपदस्थ अधिकारी तथा अनुसन्धान टोलीले फार्मको अवलोकनपछि यसलाई नमुना केन्द्रका रूपमा विकास गर्न सुझाव दिएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताउनुभयो ।

यो फार्ममा अहिले माउ र चल्ला गरी छ हजार अस्ट्रिच छन् । फार्म परिसरमा अस्ट्रिचबाहेक लोकल कुखुरा, माछा तथा अर्गानिक परिकारको रेस्टुराँ सञ्चालन गरिएको छ । सञ्चालक शर्माले यसलाई अस्ट्रिच अनुसन्धान केन्द्रका रूपमा पनि विकास गर्ने लक्ष्य लिनुभएको छ ।

रुपन्देहीको तिलोत्तमामा रहेको मुलुककै ठूलो गाई फार्म लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिसर्च सेन्टरमा दैनिक करिब चार सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट मासिक २० लाख रुपियाँ आम्दानी हुन्छ ।

भुटानको कृषि मन्त्रालयअन्तर्गतको विशेषज्ञ टोली, विश्व बैङ्क, नेदरल्यान्ड, फ्रान्स, जर्मनीका युनिभर्सिटीबाट अध्ययन अनुसन्धानका लागि टोली आएको रिसर्च सेन्टरका सञ्चालक शशी पौडेलले बताउनुभयो । लुम्बिनी आइपुग्ने विभिन्न देशका राजदूत तथा उच्चपदस्थ अधिकारी र कूटनीतिज्ञ यहाँ आउन छुटाउँदैनन् ।

विभिन्न जिल्लाका अगुवा किसान, सहकारी सदस्य, अनुसन्धानकर्ता तथा विद्यार्थी पनि भ्रमणमा आउँछन् । फार्ममा होल्सटैन, फ्रिजन र जर्सीजातका साढे चार सय गाई छन् । ती गाईबाट दैनिक दुई हजार लिटर दूध उत्पादन हुन्छ । फार्मले आफ्ना लागि आवश्यक बायो ग्यास र ऊर्जा आफैँ उत्पादन गर्छ । २२ बिघा जमिनमा उन्नत घाँस खेती गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys