पाल्पाकाे मित्यालमा खानेपानीकाे हाहाकार : विद्यार्थीकाे पढाई प्रभावित
अमृत अधिकारी || २ चैत्र २०७५,शनिबार ११:५३
धनबहादुर ठाडा पाल्पा, २ चैत । जिल्लाकाे पूर्वी भेगमा रहेकाे निस्दी गाउँपालिका-४, मित्यालको मौलाथरमा खानेपानीको समस्याले बालबालिकाको पढाइ नै प्रभावित भएको छ ।
४० घरधुरीको मगर बस्ती रहेको मौलाथरमा बिगतका वर्षदेखि नै खानेपानीको समस्या बढदै गएको हो । वर्षभरिमा जम्मा ६ महिना मात्रै धारामा पानी आउने तर माघ महिनापछि धारामा पानी बन्द हुने स्थानीय बासिन्दा जबरसिं सारुले बताउनुभयो ।
धारामा पानी आउँदा पनि गाउँभरिका सबैले एक ठाउँमा २ वटा धाराबाट पानी भर्न बिहान ४ बजेदेखि पालो पर्खिनु पर्ने हुन्छ सारुले भन्नुभयो । याे वर्ष पुस माघबाट धारामा पानी आउन बन्द भयाे उहाँले भन्नुभयाे ।
गाउँभन्दा तल करिब आधा घन्टा बाटो झरेर पानी बोक्नुपर्छ, त्यहाँ पनि सजिलोसँग भर्न पाउदैन यस्तै लाइन बस्नु पर्ने स्थानीय महिला सीता सोतीले बताउनुभयो ।
गाईबस्तुलाई खुवाउन त के कुरा नुहाउन, लुगाकपडा सफा गर्न पनि दिन भरी समय लाग्ने गरेको सोतीकाे गुनासाे छ । गाउँमा खानेपानीको समस्या बढेपछि सबैभन्दा बढी विद्यालयमा जाने उमेरका बालबालिका प्रभावित हुने गरेको स्थानीय शिक्षक निश्चल खाम्चाले बताउनुभयो ।
प्रतेक घरका केटाकेटीको मुख्य कामनै पानी बोक्दैमा दिन नै बित्ने गरेकाे छ । पानी नहुँदा यस गाउँका विद्यार्थीहरु घरमा पढने समय समेत निकाल्न सक्दैनन् । घरमा पढ्न समय नभएका बालबालिका पढाइमा कमजाेर हुनुका साथै उनीहरूकाे सिकाइ उपलब्धी समेत कमजाेर हुन्छ ।
पानी नहुादा घरका अभिभावक खेतीपातीको काममा जाने र दिनभरिलाई पानी पुर्याउने जिम्मा केटाकेटीकै ठेक्का जस्तो भएको छ । अहिले यहाँ प्रदेश नम्बर ५ को सहयोगमा लिफ्टिङ खानेपानी योजनाको काम शुरु भएकोले अब छिट्टै पानीको समस्याबाट मुक्त हुने मौलाथरका स्थानीय बासिन्दाकाे ठूलो आशा रहेको छ ।