लोपउन्मूख कुँडुले घरको संरक्षण गर्दै निस्दी गाउँपालिका
अमृत अधिकारी || २९ फाल्गुन २०७५,बुधबार १४:२१
धनबहादुर ठाडा पाल्पा, २९ फागुन । पर्यटकीय तथा वातावरणीय दृष्टिकोणले राम्रो मानिने कुँडुले घर पछिल्लो समयमा लोप हुँदै गएपछि यहाँको स्थानीय सरकारले संरक्षणमा जुटेको छ । जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको थियाे ।
पहिले सबै घरहरु कलात्मक कुँडुले (घुमाउरो रहेको निस्दीमा पछिल्लो समयमा कंक्रिट र टिनका घरले विस्थापित गर्न थालेपछि गाउँपालिकाले त्यस्ता घरहरु संरक्षणमा चासो देखाएको छ ।
पाल्पा निस्दी गाउँपालिका ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटन भित्र्ण्याउनको लागि यस्तो कुँडुले घर र पर्यापर्यटनमा जोड दिएको छ । गाउँपालिकाले मित्यालमा हावाबाट निकालेको बिजुली र झिरुबास काउलेडाँडा बनको अम्लिसो खेती सँगै गाउँमा पर्यटन प्रर्वद्धनका लागि निस्दी गाउँपालिका मगर जातिको लोपोन्मुख कुँडुले घरको संरक्षण र प्रचारप्रसारमा लागेको छ ।
कुँडुले गोलो घरलाई बचाइ राख्नको लागि पनि गाउँपालिका र स्थानीयको सहभागिता गरी कुल ३ लाखको लागतमा मित्यालको झ्यालतुङ डाँडामा कुँडुले घर निर्माण गरेको मित्यालका वार्ड सदस्य रन बहादुर गाहाले बताउनु भयो ।
मगर जातिको बाहुल्यता रहेको निस्दीमा मगरको सांस्कृति संरक्षण र सम्बद्र्धनको लागि गाउँपालिकाले यस्ता घरको संरक्षण र प्रर्वद्धनका लागि विशेष खालको अभियान नै संचालन गरेर कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भयो ।
निस्दीको मित्याल, झिरुवास, गल्घा, अर्चले, ज्यामिरे, बाकामलाङ्ग लगायतका क्षेत्रमा परम्परागत कुँडुले घरहरु लोप हुँदै गएपछि गाउँपालिकाले यस्ता घरको संरक्षणका कार्यक्रम ल्याएको हो ।