X

रामपुरमा कक्षा ८ काे परीक्षा मर्यादित बनाउन छलफल

अमृत अधिकारी || २८ फाल्गुन २०७५,मंगलवार ०२:३४

सीता डोटेल पाल्पा २८ फागुन । आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षा रामपुर नगरपालिकामा आउदो फागुन २९ गतेबाट सञ्चालन हुदैछ । रामपुर नगरपालिका शिक्षा शाखाले परीक्षालाई व्यवस्थित मर्यादित बनाउन सुपरिबेक्षकलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।

राज्य पुर्नसंरचना अनुसार शिक्षा ऐन २०७४ को अधिकार अनुसार गतबर्षदेखि स्थानीय तहले नै कक्षा ८ को परीक्षा लिने व्यवस्था गरेको हो । यसअघि जिल्ला शिक्षा कार्यालयले जिल्ला स्तरीय परीक्षाका रुपमा कक्षा ८ को परीक्षालाई लिन्थ्यो ।

यसबर्ष नगरस्तरीय परीक्षामा २७ विद्यालय सहभागी छन् । गतबर्ष २५ विद्यालय भएकोमा यस बर्ष १÷१ वटा सामुदायिक र संस्थागत विद्यालय थप भएका छन् । वडा नम्बर ८ को जानकी आधारभूत विद्यालय र वडा नम्बर १० को गेझा सनराइज बोडिङ स्कुल पहिलो पटक कक्षा ८ को परीक्षामा सहभागी भएको रामपुर नगरपालिकाका नगर शिक्षा प्रमुख रमाकान्त अर्यालले जानकारी दिनुभयो ।

नगरपालिकाले नगरका सहभागी ती २७ विद्यालयमा परीक्षा केन्द्र तोकेको छ । परीक्षा केन्द्रका २७ सुपरीवेक्षकका लागि नगरपालिका शिक्षा शाखा प्रमुख अर्यालले सहजिकरण गर्दै कुनै पनि हालतमा सभ्य रुपमा परीक्षा सञ्चालन र व्यवस्थापनको लागि निर्देशन दिनुभएको छ । पाल्पा जिल्ला एसईई परीक्षामा पनि मर्यादित परीक्षा सञ्चालन गर्ने जिल्लामा पर्छ अर्यालले भन्नुभयो–परीक्षा सँग हतोत्साहित हुने र अमर्यादित वातावरणबाट विद्यार्थीलाई टाढा नै राख्नुहोला ।

एसईई जस्तै ग्रेड सिस्टमबाट रिजल्ट हुने भएकाले लगनशीलतालाई जोड दिदै भयरहित वातावरणमा परीक्षा चलाउन उहाँले सुपरिबेक्षकलाई आग्रह गर्नुभयो । स्थानीय तहबाट परीक्षा लिने अनुभव गतबर्ष भइसकेकाले अझ व्यवस्थित गर्दै परीक्षा चलाउन लागिपरेको अर्यालले बताउनुभयो । उहाँले सबै सुपरिवेक्षकलाई केन्द्राध्यक्षको सहयोगीका रुपमा रहन र विद्यार्थीले लेख्न सक्ने सहयोगीको रुपमा निरिक्षण गर्न आग्रह गर्नुभयो । परीक्षामा सहभागी विद्यालयबाट छनौट भएका शिक्षकलाई दैनिक फरक–फरक परीक्षा केन्द्रमा सुपरिवेक्षकका रुपमा खटाइएको छ ।

यसबर्ष २१ सामुदायिक विद्यालयबाट ७ सय ३३ र ६ संस्थागत विद्यालयबाट १ सय ९५ विद्यार्थी गरी ९ सय २८ विद्यार्थी नगर स्तरीय परीक्षामा सहभागी हुनेछन् । विहान ११ बजेदेखि शुरु हुने परीक्षामा रामपुर नगरपालिकाका कम्तिमा ५ जनाको टिम दैनिक अनुगमनमा खटिने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइरालाले बताउनुभयो ।

परीक्षा आगामी चैत्र ८ गतेसम्म चल्नेछ । गतबर्ष अनिवार्य बिषयमा मात्र फरक विद्यालयमा सुपरिवेक्षक पठाईकोमा एसबर्ष ८ दिन नै सुपरिवेक्षक खटाइएको रामपुरका स्रोत शिक्षक नर बहादुर थापाले बताउनुभयो ।

स्थानीय निकायले नै परीक्षा लिएपछि निजी र सामुदायिक बिद्यालयको नतिजामा पृष्ठपोषण दिन सहज हुने आशा लिइएको छ । एसईई परीक्षामा मात्र संस्थागत र सामुदायिक बिद्यालयको तुलना गरिने प्रचलनका बिच आधारभूत तहको अन्तिम परीक्षामा तुलनात्मक अध्ययन गरी थप पृष्ठपोषणका साथ आगामी परीक्षामा नतिजा सुधार गर्न मद्धत पुुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys