X

रानीमहलसम्म पुग्न जलयात्रा सञ्चालन

अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार १०:५९

रानीमहल पाल्पा, २७ फागुन । जलयात्राको माध्यम्बाट पाल्पाको ऐतिहासिक एवं पर्यटकीय स्थल रानीमहल पुग्न सकिने भएको छ । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीबाट रानीमहलसम्म पुग्न पहिलो पटक व्यवसायिक रुपमा डुङ्गा सञ्चालन भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर रिडीदेखि कालीगण्डकी नदी हुँदै रानीमहलसम्म पुग्नका लागि डुङ्गाको व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको छ ।

दुई वटा ठूला डुङ्गा मार्फत कालीगण्डकी नदीमा जल यात्रा गरेर रानीमहलसम्म पुग्न सकिने रिडीका स्थानीय बासिन्दा तथा लगानीकर्ता शंकरप्रसाद ढेंगाले जानकारी दिनुभयो ।

रिडीदेखि डुङ्गामार्फत यात्रा गरेर रानीमहलसम्म पुग्न करिब ४ घण्टा लाग्नेछ । जलमार्ग हुँदै रानीमहलसम्म पुगेका पर्यटकहरूलाई सवारीमार्फत फर्कनका लागि पनि यातायातको व्यवस्थापन गरिएको ढेंगाले बताउनुभयो । रिडी–रानीमहल जलयात्रा गर्ने प्रतियात्रु दुई हजार रुपियाँ भाडा तोकिएको छ ।

दुई हजार भाडा तिरेपछि रानीमहल सुरक्षित यात्रा गराउने र यात्रुलाई बीचबाटोमा खाजानास्ताको व्यवस्थापन पनि गरिएको छ । यस्तै रुद्रबेणी देखि रिडीसम्मका लागि पनि जलयात्राको व्यवस्था गरिएको छ । त्यसका लागि एक हजार रुपियाँ शुल्क लाग्ने ढेंगाले जानकारी दिनुभयो ।

जलयात्रा गर्न चाहने पर्यटकलाई लक्षित गरेर पहिलो पटक व्यावसायिक रुपमा यो सेवा सुरुआत गरिएको स्थानीय बासिन्दा तथा सञ्चालक खिमप्रसाद गौतमले जानकारी दिनुभयो । यात्रुको सुरक्षाका लागि सेफ्टी ज्याकेट र हेल्मेटको व्यवस्था समेत गरिएको छ भने कुनै कारणले दुर्घटना भए विमाको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय पाँच जना व्यवसायीको अग्रसरतामा पहिलो पटक यस क्षेत्रमा जलयात्राको सुरुआत गरिएको हो । रिडी, रानीमहल र रुद्रबेनीसम्म जलयात्रा सेवा सञ्चालन गर्न अहिलेसम्म २० लाख लगानी गरेको उनीहरूले बताएका छन् । पछिल्लो समयमा रानीमहलसम्म जाने बाटो राम्रो भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो यहाँ बढ्दै गएको छ ।

तानसेन देखि १३ किलोमिटर यात्रा गरेपछि कही पक्की र कच्ची गरेर रानीमहलसम्म यातायातको सहज सुबिधाका कारण यहाँ जाने आगन्तुकको संख्यामा बृद्धि भएको हो । सरकारले एक सय गन्तव्यको सूचिमा राखेपछि रानीमहलको प्रचारप्रसारमा अझै तीव्रता आएको छ । रानीमहल तानसेन नगरपालिकालाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys