पाल्पामा काँचो सालको काठ तस्करी बढ्यो
अमृत अधिकारी || २७ फाल्गुन २०७५,सोमबार ०९:०९
भुवन कार्की पाल्पा, २७ फागुन । पाल्पा र रुपन्देहीको सिमास्थल रैनादेवी छहराको बल्ढेङगढीमा ब्यापक काठ तस्करी भएको छ ।
सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन कार्यालयका कर्मचारी समेतको मिलेमतोमा रैैनादेवी छहरा गाउँपालिका वडा नं. ७ मा पर्ने बल्ढेङगढीको लौधपानी सामुदायिक वनमा काठ तस्करी हुने गरेको पाइएको हो ।
उक्त वनमा बिगत एक महिना अघिदेखि सालका काँचा रुख ढालेर काठ तस्करी गर्ने गरेको रहस्य खुलेको हो । वनमा काटिएका ३५ वटा सालका रुखका फेदमा केहीलाई स्याउलाले ढाकिएको छ भने केहीमा आगो लगाएर कालो बनाइएको छ ।
सामुदायिक वन कै अध्यक्ष तथा पदाधिकारीको मिलेमतोमा काठ तस्करी
सामुदायिक वन कै अध्यक्ष तथा पदाधिकारीको मिलेमतोमा ती रुखहरु काटिएका हुन् । यहाँ काटिएका सालका रुखहरु चिरान गरी रुपन्देहीको सैनामैना क्षेत्रमा बिक्रीवितरण गर्ने गरिएको पाईएको छ ।
यसबारेको जिज्ञासामा लौधपानी सामुदायिक वनका अध्यक्ष बुद्ध रानाले भने, ‘हामीले नै रुख काटेका हौं, गाउँमा घर बनाउनेहरुको लागि काटियो ।’ उहाँले थप्नुभयो, ‘अन्य ठाउँमा पनि हेर्नुहोस्, अरुले पनि काटेका छन् ।’ सामुदायिक वनका पदाधिकारीकै सल्लाहमा रुख काटिएको रानाले बताउनुभयो । तर निमअनुसार आफ्नै जग्गाको पनि काँचो साल काट्न पाईदैन । कुकाठ बाहेकका काठ नियमअनुसार काट्न पाईदैन ।
यो सामुदायिक वनमा ३५ वटा सालका काँचा रुख काटिएका छन् भने ३१ वटा चिरान काठ आईतबार दिउँसोसम्म जंगलमै रहेका छन् । चिरान गर्न बाँकी रहेका आठ वटा गोलिया पनि बनमै छन् । गाउँलेहरुले काँचा साल एकै ठाउँमा भने काटेका छैनन् । दुई÷तीन सय मिटरको दुरीको फरकमा रुखहरु काटिएका छन् । धरैजसो काठ बाहिर पठाईसकेको अवस्था छ भने पाँच प्रतिशत काठमात्र वनमा छन् ।
समाचार स्रोतका अनुसार सामुदायिक वनका अध्यक्ष बुद्ध रानाकै सेटिङमा चिरान गरिएका सालका काठ रुपन्देहीको सैनामैना तथा बुटवलसम्म लुकीचोरी पठाउने गरिएकोे छ । बुटवलको बजारमा सालको काठ प्रतिक्युफिट चारहजारदेख पाँच हजारसम्म पर्दछ ।
गैरकानुनी गरेको भए नियमबमोजिम कारवाही : सव डिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरी
हाकी रुपमा जंगलमा काँचा सालका रुख काट्ने सामुदायिक वनका पदाधिकारीलाई के कारवाही हुने हो त्यो भने हेर्न बाँकी छ । यसबारेको जिज्ञासामा बल्ढेङगढी सव डिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरीले भन्नुभयो, ‘सूचना पाएपछि सोमबार विहानै हाम्रा कर्मचारी त्यो सामुदायिक वनमा गएका छन्, केही काठ भेटिएको छ खोज्ने क्रम जारी छ ।’ गैरकानुनी गरेको भए नियमबमोजिम कारवाही हुने चौधरीको भनाई छ ।
नियतबसनै रुखहरु काटिएको भए दोषीलाई कारवाही ः वडा अध्यक्ष
उता रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देवेन्द्र पुनले नियतबसनै रुखहरु काटिएको भए दोषीलाई कारवाही गरिनुपर्ने प्रतिक्रिया दिनुभयो । सम्बन्धी निकायले यसको छानविन गर्नुपर्ने उहाँको भनाई छ ।
स्रोतका अनुसार सामुदायिक वनका अध्यक्ष रानाका अफन्त रुपन्देहीको सैनामैना निवासी एक ब्यक्तिले यी काठहरु रुपन्देही झार्ने ब्यवस्था मिलाएका छन् । साथै त्यस क्षेत्रमा टेण्डर हाल्ने ठेकेदारलाई पनि यसको केही हिस्सा दिने गरेको र उनले ढुवानीमा सहयोग गर्ने गरेका छन् ।
तस्विरहरु पनि ः भुवन कार्की