X
0
Shares

पर्यटकीय गन्तव्य तालपोखरामा सकियो ५ दिने शिबरात्री मेला

अमृत अधिकारी || २२ फाल्गुन २०७५,बुधबार ०२:३९

सीता डाेटेल पाल्पा रामपुर २२ फागुन/ ५ दिने तालपोखरा बिशेष शिवरात्री मेला सम्पन्न भएको छ । देशका १०० गन्तव्यमा पर्न सफल पाल्पाको तालपोखरामा आन्तरिक र बाह्य पर्यटक भित्राउन र यसको प्रचार प्रसारको लागि तालपोखरा संरक्षण समितिले पहिलो पटक आयोजना गरेको ५ दिने शिवरात्री बिशेष मेला सकिएको हो । मेला समापनको अबसरमा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले तालपोखराको विकास द्रुत गतिमा भएकाले अब यसले स्थायित्वको लागि आबश्यक काम गर्नुपर्ने बताउनुभयो । तालपोखरालाई जसरी सकिन्छ त्यसरी व्यवस्थित गरांै, ढिलो होला तर व्यवस्थित हुनुपर्छ उहाँले भन्नुभयो–सबै पक्षको साथ र सहयोगले छोटो समयमा नै राम्रो प्रगति सम्भव भएको छ । नगरपालिकाले नगरको मुख्य पर्यटकीय धामको रुपमा तालपोखरालाई लिएको बताउदै आगामी दिनमा पनि उत्तिकै साथ दिएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले तालपोखरा नगरबासीको ढुकढुकी भइसकेको बताउदै अब यसको थप संरचनामा जोड सबै लाग्नुपर्ने बताउनुभयो । सोही अबसरमा नेकपा रामपुर अध्यक्ष कमलराज भट्टराई, जनमोर्चा नगर सचिव राम प्रसाद गैरे, पत्रकार सीता डोटेल, तालपोखरा संरक्षण समितिका संस्थापक अध्यक्ष देवराज देवकोटा, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वडा नम्बर ७ का वडाध्यक्ष तिर्थ प्रसाद पंगेनी, ईश्वरीय विश्वबिद्यालय रामपुरका प्रमुख सरस्वती पाण्डे लगायतले यस क्षेत्रको तिर्थ स्थल बनेको तालपोखरामा आउने पर्यटकको बसाई लम्व्याउन होमस्टे, पार्क तथा अन्य कला संस्कृतिको उत्थानमा लाग्न आग्रह गरेका थिए ।

मेला समापनका अबसरमा लेखा संयोजक पुरुषोत्तम ढकालले गत बर्षको आम्दानी ६१ लाख १९ हजार ८ सय ८९ रुपँया र निर्माण खर्च १ करोड ७७ लाख रुपँया रहेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जसमध्ये रामपुर नगरपालिकाबाट २६ लाख १५ हजार ३ सय ३०, डुङ्गा तथा पार्क टिकटबाट ५ लाख ४१ ह्जार ८५ रुपँया, दानपेटिकाबाट ५९ हजार ४ सय ४५ रुपँया, महायज्ञ दान वापतको २८ लाख १७ हजार १ सय ६१ रुपँया र अन्य ८५ हजार आम्दानी भएको छ ।

तालपोखरा संरक्षण समितिका उपाध्यक्ष लक्ष्मी ढकालको स्वागतबाट शुरु भएको कार्यक्रममा तालपोखरामा पहिलो पटक आयोजित डुङ्गा प्रतियोगिता र एकल नृत्य प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । पाल्पामा नै पहिलो पटक भएको यस्तो डुङ्गा प्रतियोगितामा निर्धारित दुरी दुई मिनेट २३ सेकेण्डमा पार गर्दै किशोर देवकोटा, ठाकुर खनाल, पूर्ण चन्द्र देवकोटा र भगवान देवकोटाको टोली प्रथम, नारायण भण्डारी, रामचन्द्र भण्डारी, हरि भण्डारी, केशव भण्डारी र माधव भण्डारीको समुहले २ मिनेट २३ सेकेण्ड ८१ मिमि सेकेण्डमा पार गर्दै द्धितिय भएको थियो भने तृतिय २ मिनेट २८ सेकेण्ड १२ मिमि सेकेण्डमा दुरी पार गर्दै पविन भण्डारी, श्रीकृष्ण भण्डारी, विक्रम घर्ती र अमृत भण्डारीको समुह हुन सफल भएको थियो । विजयी समुहले क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय प्राप्त गरे । ताल प्रवेश स्थलबाट शुरु भएको डुङ्गा तालको विचमा रहेको जलेश्वर मन्दिरलाई फन्को लगाएर आउनुपर्ने डुङ्गा प्रतियोगिताको रुट बनाइएको थियो ।

त्यस्तै शिवरात्री मेलामा आयोजित एकल नृत्य प्रतियोगितामा सहभागी १६ जनालाई पछि पार्दै निशा भण्डारी प्रथम, शिवानी बि.क द्धितिय र राहुुल मगरले तृतीय स्थान प्राप्त गरि क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका छन् ।

यसैबिच शिवरात्रीको दिन मात्रै तालमा डुङ्गा शेयर गर्नेहरुको टिकटबाट ८० आम्दानी भएको छ । प्लाष्टिकको वोटको १ सय, काठको डुङ्गामा ५० र समुहमा आफै चलाउने डुङ्गाकोे प्रतिव्यक्ति ३ सय रुपँया टिकट छ । यही डुङ्गाबाट मेला अबधिभरमा १ लाख ६० हजार आम्दानी भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो । गत फागुन १६ देखि २० गतेसम्म चलेको शिवरात्री विशेष मेलामा दानपेटिका र पार्कबाट थप २ लाख आम्दानी भएको छ । तालको बिचमा जलेश्वर मन्दिर छ । मन्दिर जान तालमा डुङ्गा चढेर जानुपर्दछ । शिवरात्रीमा मन्दिरमा पुजा गर्न र तालमा रमाउने बढेसँगै आम्दानी पनि बढेको हो । अन्य समयमा पनि अहिले दैनिक १ सय ३० देखि २ सय जना डुङ्गा शेयरका लागि तालपोखरा पुग्ने गरेका स्थानीय किशोर देवकोटाले बताउनुभयो ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद सल्लाहाकार सागर प्रसाद देवकोटाले व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव सुनिल देवकोटाले गर्नुभएको हो । समापनका अबसरमा दियो मगर समुहले सोरठी, कौरा नाच तथा बिविध नृत्य प्रस्तुत गरेको थियो । वडामा क्रियाशिल दियो मगर समुहको ड्रेस खरिद तथा मगरी संस्कृतिको उत्थानका लागि रानपा ६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले ५ लाख सहयोग गर्ने घोषणा समेत सोही अबसरमा गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys