तिनाउँको विस्कुनडाँडामा एकहप्ते मौरीपालन तालिम सुरु
अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार १४:१६
रानीमहल, पाल्पा, २१ फागुन । तिनाउँ गाउँपालिका वडा नं. ५ विस्कुनडाँडामा एकहप्ते मौरीपालन सम्बन्धि तालिम सुरु भएको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजना र तिनाउँ गाउँपालिकाको व्यवस्थापनमा सुरु भएको तालिमको गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीमगरले उद्घान गर्नुभयो ।
१० जना दलित र १० जना जनजाति गरी २० जनाको सहभागिता रहेको तालिममा गाउँमै स्थानीयलाई विभिन्न सीपमुलक तालिम दिएर उद्यमीसँगै आय आर्जन गराउने सोंचले घरेलुसँगको सहकार्यमा तालिम चलाइएको प्रमुख घर्तीले रानीमहललाई बताउनुभयो । उहाँले तालिमसँगै किसानलाई प्रविधिको समेत हस्तान्तरण गर्ने कार्यक्रम गाउँपालिकाले लिएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गाउँका दलित र जनजातिलाई सीप सिकाउन कार्यालयले व्यवसायीक मौरिपालन तालिम सुरु गरिएको बताउनुभयो ।
वडा अध्यक्ष दलबहादुर दर्लामीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा गापा प्रमुख घर्ती, जिल्ला समन्वय समितिका सदस्य इन्द्रा चिदी, गाउँकार्यपालिका सदस्य चुराबहादुर विक, वडा सदस्य छमीसरा विक लगायतको सहभागिता रहेको थियो ।
तालिम गाउँपालिकाका पशुशाखाका किशोर रावलको संचालनमा भएको थियो । तालिम पश्चात तालिम लिएका कृषकलाई एक, एक मौरी घार वितरण गरिने रावलले बताउनुभयो ।