तिनाउँको विस्कुनडाँडामा निशुल्क स्वास्थ्य शिविर
अमृत अधिकारी || २१ फाल्गुन २०७५,मंगलवार १४:१५
रानीमहल, पाल्पा, २१ फागुन । तिनाउँ गाउँपालिका वडा नं. ५ विस्कुनडाँडामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
दलित समुदायको बाहुल्यता रहेको विस्कुनडाँडामा रहेका विपन्न परिवारलाई गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर चलाएको प्रमुख ओमबहादुर घर्तीले बताउनुभयो । ५५ घर दलित परिवार रहेको गाउँमा शिविरबाट १ सय ५५ जनाले स्वास्थ्य परामर्श तथा जानकारी प्राप्त गरेका छन् ।
शिविरमा स्वास्थ्य शाखा प्रमुख शोभाखर पोखरेल, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, नर्स मेरी र देवी आलेले विरामीहरुको स्वस्थ्य परीक्षण गर्नुभएको थियो ।
शिविरका विरामीलाई निशुल्क औषधी वितरणको साथमा कतिपय विरामीलाई जिल्ला अस्पताल, लुम्बीनि मेडिकल कलेज लगायतका अस्पतालमा रिफर गरिएको थियो ।
शिविरमा गापा प्रमुख घर्ती, वडा अध्यक्ष दलबहादुर दर्लामी, जिल्ला समन्वय समितिका सदस्य इन्द्रा चिदी, गाउँकार्यपालिका सदस्य चुराबहादुर विक, वडा सदस्य छमीसरा विक लगायतको सहभागिता रहेको थियो ।