जापानी नागरिक ‘ओकेबाजे’लाई पाल्पामा अभिनन्दन गरिने
अमृत अधिकारी || १९ फाल्गुन २०७५,आईतवार ०८:०५
रानीमहल पाल्पा, १९ फागुन । जापानी नागरिक काजुमासा काकिमी ओकेबाजे आम पाल्पालीका लागि चीरपरिचित नाम हो । बिगत २५ वर्ष देखि पाल्पामा रही समाज सेवा गर्दै आउनुभएका जापानी नागरिक काजुमासा काकिनी ओकेबाजेलाई आगामी फागुन ३० गते नागरिक अभिनन्दन गरिने भएको छ ।
काजुमासा काकिमी ओकेबाजे नागरिक अभिनन्दन मूल समारोह समिति पाल्पाले तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी अभिनन्दन कार्यक्रम बारे जानकारी गराएको छ । अभिनन्दन कार्यक्रमले ओकेबाजेलाई सामाजिक सेवाका लागि थप प्रेरणा मिल्ने समितिका संयोजक सुन्दर श्रेष्ठले बताउनुभएको छ ।
ओकेबाजेले पाल्पाको शैक्षिक र सामाजिक बिकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउदै आएका छन् । पाल्पाको विभिन्न विद्यालयको भवन निर्माण क्लवहरुको भवन निर्माण गरिबी तथा बिपन्न समुदायको बालबालिकाको शैक्षिक विकास र आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
सन् १९३९ मा जापानको टोकियोमा जन्मिई बासोदा विश्वबिद्यालयबाट स्नातक तह उत्तीर्ण गरि टोकियोमै एक उच्च माविमा २३ वर्ष अध्यापन गराई अवकास पछि सन् १९९३ बाट पाल्पाको जल्पा गाविस स्थित ढोलीमारा गाउँमा आएर पाल लगाएर बस्नुभएको थियो ।
गरिवी, अशिक्षा र चेतनास्तरको कमीका कारण गाउँमा अधिकांश बालबालिकाहरु बिद्यालय नजाने, सरसफाईमा खासै ध्यान नदिने गरेको देखेपछि ओकेबाजीले यही बसेर समाजसेवा गर्दै आउनुभएको छ । उहाँको जापानी नाम काजुमासा कामिकी भएपनि उहाँले जनताको दुःखका बेला जस्तो सुकै प्रस्ताव राखेपनि ओके ओके भन्ने भएकोले पाल्पालीहरुले नै उहाँको नेपाली नाम ओकेबाजे राखिएको हो ।