कृषि क्याम्पसका लागि चापाकोटका तीन स्थानमा अध्ययन
अमृत अधिकारी || १८ फाल्गुन २०७५,शनिबार १३:१७
सीता डोटेल पाल्पा १८ फागुन । स्याङ्गजाको चापाकोट नगरपालिकामा कृषि प्राविधिक शिक्षाको लागि नगरपालिकाका जनप्रतिनिधि र पुर्व शिक्षा सचिव सहित इन्जिनियरको टोलीले चापाकोटको विभिन्न स्थानको अध्ययन अबलोकन गरेको छ ।

चापाकोट नगरमा कृषि क्याम्पस संचालनका लागि बिशेषज्ञ सहितको टोलीले फिल्ड विभिन्न ३ स्थानमा सर्भे गरेको हो । कृषि तथा बालीविज्ञान युनिभर्सिटी भरतपुरका डीन सहितको टोलीमा नेपाल सरकारका पुर्व सचिव शान्त बहादुर श्रेष्ठ, नगरपालिकाका उपप्रमुख बिमला श्रेष्ठ सहितको टोलीले फिल्ड सर्भे गरेको हो ।
टोलीले क्याम्पस संचालनका लागि प्राकृतिक श्रोत व्यवस्थापन समिति चापाकोटले उपलब्ध गराएको पहिलेको जनसामुहिक प्राविको ६० रोपनी, हटियामा रहेको ७० रोपनी र क्वामीमा ४० रोपनी जमिनको सर्भे गरेको छ ।
सर्भे गरिएको तीन वटै स्थानको जमिनमध्ये क्वामीको जमिनलाई पहिलो श्रेणी, जनसामुहिक प्राविको जमिनलाई दोश्रो श्रेणी र हटियाको जमिनलाई तेश्रो श्रेणीमा वर्गीकरण गरेको छ । कृषि क्याम्पस संचालनको लागि न्युनतम एक सय रोपनी जमिन क्याम्पसको नाममा आवश्यक पर्ने भएकाले जमिन उपलब्ध हुनासाथ प्रक्रिया अघि बढ्ने सर्भेका लागि आएका टोलीले बताएका छन् ।
स्थानीयवासीलाई तत्काल जमिन क्याम्पसको नाममा दर्ता गर्न सर्भे टोलीले आग्रह गरेको गंगालाल माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभएको छ । शैक्षिक क्षेत्रमा अगाडी बढ्दै गरेको चापाकोट नगरपालिकामा यहाँका विद्यार्थीलाई गाउँमै सहज रुपमा शिक्षा प्रदान गर्न कृषि क्याम्पस संचालन गर्ने तयारी भइरहेको छ ।