तानसेनमा आगामी फागुन २४ गते सडक खाना महोत्सव हुने
अमृत अधिकारी || १५ फाल्गुन २०७५,बुधबार १०:५६
रानीमहल पाल्पा, १५ फागुन । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तानसेनमा आगामी फागुन २४ गते सडक खाना महोत्सव हुने भएको छ । तानसेनस्थित भीमसेन टोल विकास संस्था महिला उपसमिति वडा ६ को आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सडक खाना महोत्सव हुने भएको हो ।
विगतका वर्षमा पनि सडक खाना महोत्सव गर्दै आएको संस्थाले यसपटक प्रदेश ५ मा रहेका स्थानीय खानाका परिकारहरू सहित महोत्सव गर्न लागेको जनाएको छ ।
स्थानीय रुपमा उत्पादन भएका बस्तु तथा खाद्यान्नबाट बनाउन सकिने खानाका परिकारहरू यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई चखाउने सडक खाना महोत्सवको उद्देश्य रहेको टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गोङ्गलले बताउनुभयो ।

खाना महोत्सवमा नेवारी, मगरी, ब्रामण, मुस्लिम लगायत जातजातिका भेषभूषा सहित परम्परागत खाजा तथा खानाको परिकार राखिने छ । तानसेन नगरपालिका वडा ६ वडा अध्यक्ष सागरमान महर्जनले सडक खाना महोत्सवले हराउँदै गएको स्थानीय खानाको परिकारसँगै कला–संस्कृति जर्गेना गर्न सहयोग पुग्ने बताउनुभयो ।
भीमसेनटोलमा रहेको वाचनालय निर्माण गर्न सडक खाना महोत्सवको आयोजना गरिएको उक्त संस्थाकी उपाध्यक्ष सिर्जना अमात्यले बताउनुभयो ।