Erani Mahal
भाेलिदेखि दाेस्राे चरणकाे खाेप अभियान : पाल्पामा १६ हजार बढीलाई खाेप लगाउने लक्ष्य
health
पाल्पा – कोरोना बिरुद्धको खोप अभियानलाई सफल बनाउन जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा सहभागीले कोरोना खोप सबैले लगाएर कोरोना संक्रमणबाट बच्न सकिने बताएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले कोरोना संक्रमण र खोपका बारेमा जानकारी दिनुभएको थियो । यसैबीच पाल्पामा दोस्रो चरणको कोरोना बिरुद्धको खोप लगाउने अभियान अन्तर्गत १६ हजार ४४५ जनालाई खोप लगाउने भएको छ । ६५ वर्ष माथि उमेर समूहका १६ हजार बढी नागरिकलाई दोस्रो चरणको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ । यसअघि शिक्षक, ५५ वर्षदेखि माथिका र सवारी चालकलाई समेत कोरोना बिरुद्धको खोप लगाउने भनिएतापछि यो चरणमा ६५ वर्षँ माथिकालाई मात्र खोप लगाइनेछ । पाल्पाका ७१ वटा खोप केन्द्रमार्फत ६५ वर्ष भन्दा माथि उमेरका नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताउनुभयो । खोप केन्द्रहरूमा २१६ जना खोप दिने स्वास्थ्यकर्मी र २३६ जना स्वास्थ्य स्वयम्सेवक खटिने उहाँले बताउनुभयो । पहिलो चरणमा पाल्पाका पाँच हजार ३६२ जनालाई खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पहिलो चरणमा पाँच हजार ८०० जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ९३ प्रतिशत प्रगति हासिल भएको बताउनुभयो । उहाँले लुम्विनी प्रदेशमै सबैभन्दा बढी पाल्पामा लक्ष्यभन्दा बढी खोप लगाएको उल्लेख गर्नुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कैदीबन्दी, शब व्यवस्थापनमा खटिएका कर्मचारी, सरसफाईकर्मी, बैँकका कर्मचारी, जेष्ठ नागरिक, जनप्रतिनिधि, सञ्चारकर्मी लगायतले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update