Erani Mahal
तानसेनकाे आठौँ नगरसभा सम्पन्न : हरेक वडामा एक किमी सडक कालाेपत्रे बनाइने
kjj
पाल्पा – तानसेन नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । सभाले विभिन्न तीन विद्येयक पारित गरेको छ । विनियोजन विद्येयक–२०७७, आर्थिक विद्येयक, वन विद्येयक सभाले पारित गरेको नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । सभामा नगर प्रमुख शाहीको अनुमतिमा तानसेन वडा नं. १ का अध्यक्ष रामप्रसाद बस्यालले आर्थिक वर्ष २०७७/०७८ को समीक्षात्मक बजेट तथा योजना कार्यान्वयन अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आवमा नगरपालिकाले विनियोजन गरेको १ अर्ब १२ करोड बजेटमध्ये पूँजीगततर्फ १९ प्रतिशत र चालु तर्फ २५ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । कार्यक्रममा विनियोजन विद्येयक–२०७७ प्रस्तुत गर्नुहुँदै नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले नगर कार्यपालिकाको निर्णयले बजेट खर्च हुन नसक्ने अवस्था र अत्यावश्यक अवस्थामा बजेट विनियोजन गर्नुपर्ने भए निर्णय गर्न सक्ने बताउनुभयो । आठौँ सभामा नगर कार्यपालिका सदस्य दिपक विकले रेडियो एफएम संचालन कार्यबिधि –२०७७ निर्णयार्थ प्रस्तुत गर्नुभयो । सभामा नगर सभा सदस्य सुनिता बैंजुल आर्थिक विद्येयक र मैयादेवी घिमिरेले वन विद्येयक प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत एफएम संचालन कार्यविधि, वन विद्येयक र आर्थिक विद्येयक सर्वसम्मत रुपमा पारित भएको छ । सभामा तानसेनभित्रका सबै वडाका बजेट तथा योजना संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । सभाकाे शुन्य समयमा आफ्ना धारणा राख्नुहुँदै नगरसभा सदस्य विष्णुबहादुर कार्कीले नगरपालिकाले हालसम्म गरेका कामको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिका प्रशासन र जनप्रतिनिधिका बीचमा प्रभावकारी समन्वय हुन नसक्दा फोहोर व्यवस्थापन कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । यस्तै अर्का नगरसभा सदस्य नारायण न्यौपानले तानसेन वडा नं. १ को भुसलडाँडा क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यक्तिलाई करमा छुट दिनुपर्ने माग राख्नुभयो । कार्यक्रममा नेत्रप्रसाद गैरे, रामप्रसाद बस्याल, गणेश थापा लगायतले सुझाव मनतव्य राख्नुभएको थियो । सभामा तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले नगर सरकारले जनताको पक्षमा गरेको काम बिस्तारै देखिन थालेको बताउनुभयो । उहाँले नगरभित्र विकास निर्माणका काम गर्दा केही तत्वबाट मुद्दा दिने र विकासको काममा अबरोध गर्ने प्रयास गरेपनि त्यो सफल नहुने बताउनुभयो । नगरप्रमुख शाहीले नगरसभाले हरेक वडाका १ किमी सडक कालाेपत्रे गर्ने निर्णय लिएकाे बताउनुभयाे । नगरसभा सामाजिक विकास शाखा अधिकृत भरत आचार्यको संचालन र नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update