Erani Mahal
पाल्पामा छायाँकन गरिएको ‘परदेशी–२’ आउँदो दशैंमा रिलिज हुने
DSC00641
पाल्पा – पाल्पामा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायाँकन सकेको निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । वरिष्ठ लोकगायक समेत रहनुभएका निर्देशक रायमाझीले लकडाउनअघि र पछि गरि ५० दिनमा चलचित्रको छायाँकन सकिएको बताउँदै आउँदो दशैंमा प्रदर्शन तय गरिएको जानकारी दिनुभयो । उहाँले अमेरिकासँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको बताउनुभयो । निर्देशक रायमाझीका अनुसार चलचित्रको कथा दशैंसँग पनि जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको हो । ‘परदेशमा हुने नेपालीहरु विशेषगरी चाडपर्व सम्झन्छन््, त्यसमा पनि दशैं उनीहरुलाई अझ बढी सम्झनामा आउँछ’ ईरानीमहलसँगको कुराकानीमा उहाँले भन्नुभयो, – ‘यसको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो ।’ उहाँले चलचित्रको विषयवस्तुले दर्शकको मन छुने बताउनुभयो । यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेको राखेर चलचित्र निर्माण गरिएको निर्देशक रायमाझीले बताउनुभयो । नारायण ईन्टरनेशनल प्रा.ली.को ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी २’ को निर्माण गर्नुभएको हो । चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रहनुभएका गीतकार रमेश विजीले तयार पार्नुभएको हो । चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै चलचित्रमार्फत अभिनेताको रुपमा डेब्यू गर्दैछन् । चलचित्रको गत मंसिरमा पाल्पाको माथागढी गाउँपालिकाको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा छायाँकन गरिएको थियो । चलचित्र छायाँकनका लागि निर्देशक नारायण रायमाझी, अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकार पाल्पामा आउनुभएको थियो । सम्बन्धित समाचार : ‘परदेशी –२’को सुटिङ यूनिट पाल्पामा पाल्पाबाट फर्कियो चलचित्र ‘परदेशी २’ टिम पाल्पाको झडेवामा जन्मिनुभएका निर्देशक रायमाझीले आफ्ना यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गर्नुभएको थियो । दुबै चलचित्र सुपरहिट भएका थिए । उहाँको ‘परदेशी–२’ तेस्रो चलचित्र हो । चलचित्रमा पाल्पाका केही कलाकारहरुले समेत अभिनय गर्नुभएको छ । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्धन्द्ध, बि.बि. अनुरागीको संगीत तथा गोबिन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दिर्घ खड्काले सम्पादन गर्नुहुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update