Erani Mahal
तिनाउ गाउँपालिकाको आठौं गाउँसभाबाट तीन वटा कार्यविधि पारित
News-Tinahu
पाल्पा- तिनाउ गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । मंगलबार तीन वटा कार्यविधि पारित सहित गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको गाउँसभाबाट लैंगिक निवारण कोष कार्यविधि २०७७, जलश्रोत उपयोग तथा मुहान दर्ता सम्बन्धी कार्यविधि, २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सभामा चालु आर्थिक वर्षको कार्यप्रगति, समसामयिक विषयमा छलफलसहित ३५ लाख १५ हजार पुरक बजेट थप गरिएको श्रेष्ठले बताउनुभयो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले अनुमोदित कार्यविधिबाट पालिकाको कार्यसम्पादनमा सहज हुने धारणा राख्नुभयो । अनिवार्य दायित्व अन्तर्गत पुरक बजेट थप गरिएको उहाँको भनाई छ । अध्यक्ष घर्तीमगरले पालिकामा आवश्यक कार्यविधि सभाबाट अनुमोदन गरिएको बताउँदै जनप्रतिनिधिबाट पारित कार्यविधि कार्यान्वयनमा कर्मचारीको सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार तिनाउ गाउँपालिकामा चालु आर्थिक वर्षका २५० योजनामा १२५ योजना सम्झौता भइसकेका छन् । जसमध्ये ३५ योजना सम्पन्न भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा चालु आर्थिक वर्षमा ३३ प्रतिशत चालु खर्च र १८ प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकामा यसै वर्षभित्र सम्पन्न गर्ने गरी प्रशासकीय भवन निर्माण कार्य जारी रहेको छ । सूचना प्रविधि अधिकृत तुलबहादुर घर्तीमगरका अनुसार वडा नं. ५ र ४ का वडा भवनसमेत निर्माण भएका छन् । तिनाउँ गाउँपालिका साविकका कचल, दोभान, कोलडाडाँ र मस्याम गाविस मिलाएर ६ वडामा विभाजन गरि बनेको गाउँपालिका हो । हरियाली बनजंगल, जन्तीलुंग, रिङसिङलेक, पाटन, ठुली उदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट सिद्धबाबा मन्दिरजस्ता ठाउँ तिनाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । पाल्पाको तिनाउ समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update