Erani Mahal
पूर्वखाेलाकाे आठौँ गाउँसभा सम्पन्न :   बजेट संशाेधनसहित चाैंध वटा ऐन तथा कार्यविधि पारित
purbakholaa1
पाल्पा – पूर्वखोला गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले १४ वटा ऐन तथा कार्यबिधि पारित गरेको छ । आठौँ गाउँसभाबाट भएका निर्णयहरुको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले चालु आवमा सञ्चालित केही योजना संशोधन सहित पारित भएको बताउनुभयो । उहाँले प्रदेश र संघीय सरकारसँग विभिन्न क्षेत्रमा थप योजना माग गर्ने आठौँ सभाबाट निर्णय भएको बताउनुभयो । गाउँपालिकाले संशोधन सहित चालु आवका लागि चालु र पूँजीगतर्फ गरी ४८ करोड ७९ लाख ६५ हजार रुपियाँको बजेट प्रस्ताव गरेको छ । गाउँपालिका अध्यक्ष थापाले आफूहरू निर्वाचित भएपछि ऐन र कार्यबिधिका विषयमा अलमल भएपनि अब भने सुरुमा जस्तो अलमल नभएको बताउनुभयो । उहाँले गाउँपालिकाले तीन वर्षको अबधिमा गरेको कामको प्रभाव तत्काल नदेखिएपनि अबका केही वर्षमा यसको प्रभाव देखिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष नीरबहादुर सारुले चालु आवमा विनियोजित बजेटमध्ये हालसम्म १९ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँले कोरोना महामारीका बीचमा पनि विकास निर्माणको काम भएको जानकारी दिनुभयो । प्रवक्ता सारुले चालु आव २०७७÷०७८ मा संचालनमा रहेका ३६२ योजनामध्ये ८५ वटा योजना सम्झौता भएको र १५ वटा योजना सम्पन्न भएको बताउनुभयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले संस्थागत र सामुदायिक विद्यालयबीच भएको विभेद अन्त्य गर्न विद्यालय मर्जको प्रक्रिया अन्तिम चरणमा पु¥याएको बताउनुभयो । उहाँले कोरोना महामारीका बीचमा पनि चालु आवमा ८ प्रतिशत पूँजीगत खर्च हुनु सकारात्मक भएको बताउनुभयो । पनेरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार निर्माण, कृषि पकेट क्षेत्र निर्माणमा पूर्वखोलाले महत्वपूर्ण काम गरेको र डेढ वर्षपछि नयाँ जनप्रतिनिधि आउँदा भएका कामहरू देखिने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले संस्थागत र सामुदायिक विद्यालयलाई एउटै बनाउने योजना कार्यान्वयन गरेर पूर्वखाेलाले उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले कृषि उत्पादनमा बृद्धि र स्वास्थ्य क्षेत्रको विकासमा समेत पूर्वखोला गाउँपालिकाले सह्रानीय कार्य गरेको बताउनुभयो । गाउँपालिकाले गरेका कतिपय काम प्रचारप्रसार हुन नसकेको बताउँदै उहाँले आफूले गरेको काम खुलेर भन्न सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकारहरू माधव अर्याल, रेखीराम राना, कृष्ण कार्की, यज्ञमूर्ति तिमिल्सिना, किरण कौशल, मिलन विश्वकर्मा, छवी खनाललगायतले सुझाव दिनुभएको थियो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागीरथी भट्टराईको स्वागत र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update