Erani Mahal
मूर्ति हेर्न नमिल्ने भैरवनाथ मन्दिरको जिर्णोद्वार यसरी हुँदैछ !
bhairab mandir (1)
पाल्पा- कालभैरवको मूर्ति हेर्न नहुने जनश्रृतिपाल्पाको भैरवनाथ मन्दिरको मुख्य मन्दिर जिर्णोद्वारको काम सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिले पञ्चवलीसहित वैदिक विधिबाट क्षमापूजा गरी मन्दिरको गजुर निकाल्ने र मन्दिरको छानो भत्काउने काम सुरु गरेको छ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले मन्दिरको जिर्णोद्वारको काम हुँदा पनि मन्दिरको नियमित पूजापाठ, दर्शन र पूजाअर्चनाको काम नरोकिने गरी निर्माण कार्य हुने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले भैरवनाथ मन्दिर, सत्तल तथा दरबार पुनः निर्माणका लागि धर्म एसपीपी जेभीसँग २ करोड ६४ लाख २७ हजार ९ सय २८ रुपैंयामा ठेक्का सम्झौता गरेको छ । २०७६ असार ८ गते भएको सम्झौता अनुसार २०७८ बैशाख मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । यस अगाडि सेन राजा बस्ने गद्दी, महन्त बस्ने मठ र अखण्ड धुनी रहेको मठको निर्माण कार्य सम्पन्न भइसकेको छ । भैरवनाथ मन्दिर माउन्टेन टेम्पल प्यालेस अर्थात् मन्दिर र दरबार एकीकृत माेडलमा बनेकाे छ । राणाकालीन समयमा बनेको सत्तलको समेत निर्माण कार्य पुरा भएको छ । सेनवंशी राजा मणिमुकुन्द सेन प्रथमले निर्माण गरेको यो भैरवनाथ मन्दिरमा दर्शन गर्न वर्षेनी हजारौँ मानिसहरु आउने गर्दछन् । भैरवनाथको पूजाअर्चना गर्न, माना पाथीको रोट चढाउन र पञ्चवली दिन नेपाल र भारतका विभिन्न स्थानबाट मानिसहरु आउने गर्दछन् । भैरव मन्दिरको गुफामा कालभैरवको मूर्ति रहेको र त्यहाँ नित्य दीप बलिरहेको छ । त्यसलाई कुनै असर नपर्ने गरी निर्माणको काम हुने व्यवस्थापक मिनबहादुर बुढाथोकीले जानकारी दिनुभयो । कालभैरवको मूर्ति हेर्न नहुने जनश्रृति रहेकाले त्यो कसरी लुकाएर संरचना बनाइन्छ भन्ने जिज्ञासा पनि समुदायमा चलेको पाइन्छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले सरकारले मन्दिरको पुननिर्माण गर्न यथोचित बजेट विनियोजन गरेकाले जगबाटै बनाउन सके सुरक्षित हुन्थ्यो भन्ने लागेको बताउनुभयो । सेनकालीन मन्दिर भने तापनि अहिले पुरातत्वले बनाएको यो मन्दिर तले शैलीमा निर्माण हुन लागेको छ । तले शैलीले राणाकाल र शाहकालीन समयको प्रतिनिधित्व गर्दछ । सेनकालीन समयको भएर डोम शैलीको बनाउनुपर्ने मत पनि नागरिकस्तरबाट आएको छ । विभिन्न कालखण्डमा मन्दिरको संरचनाहरु बनेकाले एउटै शैलीको नभएको र अहिले पुनः निर्माणका बेला पनि छलफल कम भएको संस्कृतिविद् निर्मल श्रेष्ठको भनाई रहेको छ । भैरव मन्दिर जिल्ला सदरमुकाम तानसेनबाट ९ किलोमिटर पश्चिममा रहेको छ । मूल मन्दिरको जिर्णोद्वारको काम २०७८ साल बैशाख मसान्तसम्म सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो । मन्दिर नजिकै रहेको फूलबारी, पहाडको अग्लो र मनोरम स्थानमा रहेकाले यसले पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण योगदान दिदैँ आएको छ । पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश अर्यालकाे सहयाेगमा । तस्वीर तुलबहादुर अधिकारी ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update