Erani Mahal
चुनावमा लाग्न आन्दाेलनरत पक्षलाई मन्त्री ज्ञवालीकाे आग्रह
IMG_7233
पाल्पा – परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले वैशाखमा हुने निर्वाचनले राष्ट्रिय राजनीतिमा देखा परेका अनेकन समस्यालाई किनारा लगाउने दावी गर्नुभएको छ । राजनीतिलाई सही कोर्षमा लैजानका लागि बाध्यात्मक रुपमा लिएको निर्णयले अहिलेको अवस्था सिर्जना भएपनि चुनावबाटै समस्याको समाधान निस्कने मन्त्री ज्ञवालीको दावी छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा शनिबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै मन्त्री ज्ञवालीले नेकपाका नेता र दलहरूलाई बैशाखमा हुने चुनावमा लाग्न आग्रह गर्नुभयो । ‘समस्या सिर्जना भएपछि त्यसको निकासका लागि जनतामा सर्वोत्तम विकल्प हो, अहिले हामीले जनतामा जाने निर्णय गरेका छौँ, आन्दोलनरत पक्षलाई निर्वाचन अभियानमा होमिन आग्रह गर्दछु’ मन्त्री ज्ञवालीले भन्नुभयो । चुनावमा गएपछि जनताबाट नै उचित फैसला हुने र बिरोधका कार्यक्रम स्थगन गर्न ज्ञवालीले आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको उहाँले बचाउ गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटन संविधानको मर्म अनुसार भएको जिकिर गर्नुभयो । पछिल्लो समय भारतसँगको सम्बन्ध थप सुदृढ भएको बताउँदै उहाँले नेपाल–भारतको बीचमा भएको समस्या कुटनैतिक माध्यम्बाट समाधान हुने बताउनुभयो । ‘छिमेकी राष्ट्रसँग हामीले सार्वभौम समानताका आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ उहाँले भन्नुभयो । शनिबार तानसेनमा नेकपा पाल्पा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य समेत रहनुभएका ज्ञवालीले पार्टीमा बहुमत र अल्पमतको खेलले यो अवस्था सिर्जना भएको बताउनुभयो । प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओलीले यस्तो अवस्थामा बहुमत हुन्छ भन्ने जान्दाजान्दै पनि पार्टी एकतालाई मजबुत बनाउन बहुमत अल्पमतमा नलागेको नेता ज्ञवालीको भनाई छ । पार्टी केही नेताहरू बैठक बसेर कुर्ची, सोफा, टेबल, टेबुलमा राखेका कपडा, तेरो मान कि मेरो मान भन्नेमै अल्झिएको उहाँले बताउनुभयो । पार्टीको कोर टीम भनेर नौँ जनाको सचिवालय बनाएपनि उक्त सचिवालयको बैठकले पार्टी र जनताले चाहना गरेअनुसारको निर्णय गर्न नसकेको उहाँले बताउनुभयो । पार्टीका केही नेताबाट सुरुदेखि नै प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था सिर्जना गरेको दावी गर्नुभयो । महाधिवेशनबाट पार्टी अध्यक्ष बन्न आग्रह गर्दा पनि नमान्ने र पार्टीमा कार्यकारी अध्यक्ष दिदा पनि पार्टीको काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा ओली समूहका केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरे, अर्का केन्द्रीय सदस्य झपेन्द्रबहादुर जिसी, प्रदेशसभा सदस्य युवराज खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु लगायतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यको अध्यक्षता, लक्ष्मीदेवी पाठकको स्वागत र रामजी पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update