Erani Mahal
पाल्पा व्यापार संघद्वारा पाल्पा महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक
pp
पाल्पा – पाल्पा व्यापार संघले प्रथम पाल्पा महोत्सवको आयव्याय सार्वजनिक गरेको छ । संघले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी गत फागुन १ गतेदेखि ११ गतेसम्म तानसेन–९ दमकडामा सम्पन्न प्रथम पाल्पा महोत्सवको आयव्याय सार्वजनिक गरेको हो । संघले ११ दिनसम्म सञ्चालन भएको महोत्सवबाट ७८ लाख ४३ हजार १५२ रुपियाँ आम्दानी भएको र ६५ लाख १८ हजार ८४३ रुपियाँ खर्च भएको जनाएको छ । महोत्सवका आर्थिक संयोजक विष्णु खनालले १३ लाख ९२ हजार ५७६ रुपियाँ नाफा भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । खनालले महोत्सवपछि तत्काल आम्दानी र खर्च सार्वजनिक गर्ने भनिएपनि कोरोनाका कारण आम्दानी खर्च सार्वजनिक गर्न ढिलाई भएको बताउनुभयो । उहाँले महोत्सवमा अझैँ केही रकम उठ्न बाँकी रहेको बताउँदै संघले पहिलो पटक आयोजना गरेको मेला सफल भएको बताउनुभयो । काेराेनाका कारण केही सरकारी निकायबाट प्रतिबद्धता भएअनुसारकाे रकम नउठेकाे उहाँले बताउनुभयाे । कार्यक्रममा संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले दमकडामा सम्पन्न महोत्सवले अब ग्रामीण क्षेत्रमा पनि व्यापार मेला गर्न सकिने रहेछ भन्ने मार्गदर्शन प्राप्त भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा महोत्सव हुँदैन भन्ने हल्ला र प्रचारका बीच स्थानीय समुदाय र आम पाल्पाली सहित उद्योगी व्यापारी र सरोकारवाला निकायको सहयोगमा महोत्सव भव्य बनेको बताउनुभयो । उहाँले कोरोनाका कारण आयव्याय सार्वजनिक गर्न ढिलाई भएको बताउनुभयाे । उहाँले मेला भएको स्थल दमकडा खेलमैदान सुधार गर्न एक लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव कृष्ण कार्कीले व्यापारी व्यवसायीहरूको हितमा संघले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघले मेला महोत्सव गर्दा आर्थिक अनुशासन कायम गर्न सुझाव दिनुभयो । कार्यक्रममा पत्रकारहरूले समग्रमा मेला सफल भएपनि आयव्याय सार्वजनिक गर्न ढिला गरेकोमा प्रश्न गरेका थिए । संघका उपाध्यक्ष ठानेश्वर गैरेले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पत्रकार सम्मेलन संघका अध्यक्ष पोखरेलको अध्यक्षता र सचिव पर्शराम पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update