Erani Mahal
खेतीयोग्य जमिनमा सिँचाइको असुविधा !
sinchai_
पाल्पा - पाल्पामा खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ । बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन् । सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ । पहिलो बीस धाराबाट जमिन सिँचाइ गरी किसानले तीन खेती गर्दै आएका थिए । धान, मकै, गहुँखेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकैखेती मात्र गर्दै आएको स्थानीयबासिन्दा लीलामणि अधिकारीले गुनासो पोख्नुभयो । सडक विस्तारले सात वर्षदेखि अहिलेसम्म कुलोको नामनिशाना नरहेको स्थानीय बासिन्दा अधिकारीले बताउनुभयो । झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच छैन । सिँचाइको सहज पहुँच र अन्नबाली राम्रो हुने देखेर अधिकारी विसं २०६० मा पाल्पाको गुगाबाट बसाइँसराइ गरेर आउनुभएको हो । ‘पहिला धान, मकै प्रशस्त उत्पादन हुने ठाउँ हो, हाम्रा बाहुबाजे मकै धान स्याङ्जाका मानिसलाई बेच्थ्यौं’, स्थानीयवासी प्रेम पन्थीले बताउनुभयो । सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको थियो । स्थानीयवासीले कालीगण्डकी कोरिडोरको सडक विस्तारले खानेपानीका धाराकुवासमेत छिन्नभिन्न भएपछि नदीको पानी बोकेर खानुपरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update